सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । १२ सय सीसी र त्योभन्दा बढी क्षमताका ट्याक्सी दर्ता गर्न अध्ययन भइरहेको छ ।
यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै नयाँ र सुविधायुक्त ट्याक्सी ल्याउनुपर्ने उनले बताए । विभागका अनुसार सडकमा कस्ता र कति क्षमताका ट्याक्सी आवश्यक छ भनी अध्ययन भइरहेको छ । ट्याक्सीको दर्ता नियमितरूपमा खुलाउनेभन्दा पनि केही समयका लागि खुलाइने उनको भनाइ छ । उनले भने, 'अहिले केही समयका लागि र सीमित संख्यामा खुलाइने भए पनि त्यसपछि फेरि बन्द हुन्छ ।'
सरकारले लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा भूकम्पीडितलाई राहत दिने भन्दै २०७२ भूकम्प प्रभावित जिल्लाका बासिन्दाका लागि दर्ता खुलाएको थियो । अहिले सडकमा रहेका ट्याक्सीमध्ये अधिकांश ८ सय सीसी बराबरका छन् । सिट पनि साँघुरो र कम क्षमताको हुँदा यात्रुलाई असहज भइरहेको छ । -रासस