आर्थिक वर्ष ०७५/७६ मा सूर्य नेपाल प्रालिले सबैभन्दा बढी कर तिरेको छ । आन्तरिक राजस्व विभागले सातौं राष्ट्रिय कर दिवसका अवसरमा आइतबार राजधानीमा गरेको विशेष कार्यक्रममा ०७५/७६ मा सबैभन्दा बढी कर तिर्ने करदाता सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीलाई सम्मान गरिएको छ । यस्तै व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थशमशेर राणा छन् । कार्यक्रममा उनको प्रतिनिधिको रुपमा शम्भुप्रसाद दाहालले सम्मानपत्र ग्रहण गरेका थिए ।
त्यसैगरी निर्यातकर्ताहरुबाट सबै भन्दा बढी आयकर तिर्ने करदाताको रुपमा डाबर नेपाल प्रालि, मदिरा र चुरोटबाहेक उद्योगतर्फबाट सबैभन्दा बढी आयकर तिर्ने जगदम्बा स्टिल्स प्रालि, कृषि एवं पशुपक्षीजन्य उद्योग मध्येबाट सबैभन्दा बढी आयकर तिर्ने, अन्नपूर्ण एग्रो इन्डष्ट्रिज प्रालिलाई सम्मान गरिएको छ ।
सहकारी तथा लघु वित्त मध्येबाट छिमेकी लघु वित्त, बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबारमध्ये राष्ट्रिय वाणिज्य बैंक, बिमा व्यावसायमध्येबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा मध्येबाट सबैभन्दा बढी आयकर तिर्ने मणिपाल एजेकुसन एन्ड मेडिकल ग्रुप नेपाल प्रालि तथा सूचना प्रविधि क्षेत्र मध्येबाट वर्ल्ड लिंक कम्युनिकेसन सम्मानित भए ।
यसैगरी कार्यक्रममा व्यापार व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने अग्नि इन्टरप्राइजेज, पर्यटन व्यवसायमध्ये तारागाउँ रिजेन्सी होटल, मध्यमस्तरीय करदातामध्ये कामना सेवा विकास बैंक, आन्तरिक राजस्व कार्यालयहरुको कार्य क्षेत्रभित्र रही सबैभन्दा बढी आयकर तिर्ने भीएस सर्भिसेस मोरिसस प्रालिलाई सम्मान गरिएको छ । त्यसैगरी मूल्य अभिवृद्धि करतर्फ उत्कृष्ट कर संहिता भएको तथा ०७४/७५ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने घोराही सिमेन्ट उद्योग भएको छ । विभागले १५ विधा निर्धारण गरी उत्कृष्ट करदाता छनोट गरी सम्मान गरेको हो ।