बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा भ्रमणले पोखराका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।
भ्रमण वर्ष, २०२० को पूर्वसन्ध्यामा राष्ट्रपति मोहम्मदको भ्रमणलाई विशेषरूपमा लिइएको पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । नेपाली सेनाको विशेष हेलिकप्टरबाट पोखरा आउनुभएका राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशप्रमुख अमिक शेरचनसहित प्रदेशका उच्चपदस्थ व्यक्तिबाट भव्य स्वागत गरिएको थियो ।
त्यसलगत्तै राष्ट्र बैंक चोकको सडक किनारबाट पोखरा पर्यटन परिषद्को नेतृत्वमा बसेका पर्यटन व्यवसायी, आमा समूह, टोल विकास संस्था लगायतले नेपालको झण्डा फहराएर पुष्पगुच्छासहित हमिदको भव्य स्वागत गरेका थिए । धर्मपत्नीका साथमा रहनुभएका राष्ट्रपति हमिदले मुस्कानका साथ सबैलाई अभिवादन गरेका थिए । भ्रमण वर्षको पूर्वसन्ध्यामा अतिविशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको परिषद् अध्यक्ष पोखरेलले बताए । उनले यसलाई पर्यटन क्षेत्रका लागि एउटा सकारात्मक सन्देश भएको प्रतिक्रिया दिए ।
महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले सुन्दर शहर पोखरामा राष्ट्रपति हमिदको भ्रमणले पोखरालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन थप सहयोग पुग्ने बताए । नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले राष्ट्रपति हमिदको भ्रमणले पर्यटन प्रवद्र्धनमा थप भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति हमिदले आफ्नी धर्मपत्नीका साथ फेवातालमा आधा घण्टा जलविहार गरे । फेवाताल किनारस्थित फिष्टेल लजमा दिवाभोज गरेर उहाँ पोखरा आसपासका दृश्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गरेका थिए । रुपाकोट गाउँपालिकाले उहाँको स्वागतमा झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।