नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । आज साताको पाँचौं दिन अर्थात् बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ । चाँदी भने प्रतितोला १० रुपैयाँले बढेको छ । बिहेको लगन नजिकिएसँगै सुनचाँदीकै भाउ बढ्दा उपभोक्ताले महँगोमा किन्नुपर्ने अवस्था आएको छ ।
उसो त हिजो सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको थियो । सोमबार र मंगलबारस्थिर रहेको सुनचाँदीको भाउ हिजो र आज (बुधबार र बिहीबार) भने ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बुधबार) भने छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने नेपाली बजारमा छापावाल सुन ७१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बुधबार) भने ७१ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यस्तै तेजाबी सुन अस्ति (मंगलबार) भने प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
१० रुपैयाँ प्रतितोला मात्रै बढेको चाँदीको भाउ आज ८ सय ६० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ८ सय ५० रुपैयाँ र अस्ति मंगलबार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार अहिले बिहेको लगनको समय आउन थालेकाले उपभोक्तालाई सुनचाँदी किन्न बाध्यात्मक अवस्था छ । यता दिनदिनै सुनचाँदीको भाउ बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।