नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । आज साताको चौंथो दिन अर्थात् बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । हिजो र अस्ति (सोमबार र मंगलबार) स्थिर रहेको सुनचाँदीको भाउ आज भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने ७१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन हिजो प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाले मात्र बढेको छ । हिजो चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आज भने प्रतितोलामै ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।