उद्योगपति तथा पूर्व अर्थसहायकमन्त्री डा रुप ज्योतिसहित उनकी छोरीलाई अपमानजनक ढंगले पक्राउ गरिएको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
उनीहरु दुबैलाई पक्राउ पश्चात् थुनछेकको म्याद थप गरिएबाट मुलुकको सिंगो निजी क्षेत्र मर्माहत तथा हतोत्साहित बन्न पुगेकाले तत्काल अदालतमा लगेर न्यायका लागि मार्ग प्रशस्त गर्न महासंघले माग गरेको छ ।
हजारौलाई रोजगारी दिई मुलुकलाई प्रत्येक वर्ष ठूलो मात्रामा राजस्व बुझाउँदै आएका प्रतिष्ठित उद्योगपति र उनकी छोरीको यस किसिमको पक्राउ प्रकरणले निजी क्षेत्रप्रति राज्यले गर्ने व्यवहार उदाङगो भएको महासंघद्धारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।
समृद्ध नेपाल, सुखी नेपाली भन्ने वर्तमान सरकारको अवधारणालाई मूर्त रुप दिन अहम् भूमिका खेल्ने निजी क्षेत्रका उद्यमी व्यवसायीलाई कानुन परिपालनका क्रममा सम्मानजनक व्यवहार गर्न समेत महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति मार्फ्त जोडदार माग गरेका छन्।
ठगी मुद्दामा गत बिहीबार साँझ महानगरीय प्रहरी परिसरको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियाे।