एउटै बोकाको मूल्य करिब ३ लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ । तर यहाँका एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् । बेनी नगरपालिका ९, तोरीपानीमा विगत ६ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई महँगो मूल्यमा बिक्री गरेको बताए ।
उनले सञ्चालन गरेको धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको क्रस नगरिएको सो बोका २ लाख ९० हजार रुपैयाँमा किनेको जानकारी दिए । रिजालको फार्ममा अहिले ७ शुद्ध बोयर र २५ क्रस बोयर जातका बाख्रा छन् । स्थानीय जातका बाख्रामा नश्ल सुधारका लागि रिजालले अस्ट्रेलियाबाट उत्नत जातको बाख्रा आयात गरी ल्याएका थिए ।
विगत ५ वर्षदेखि स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्न थालिएको र नश्ल सुधार गरिएका बोयर बाख्राका पाठापाठी एउटैलाई १ देखि २ लाख रुपैयाँसम्ममा बिक्री गर्दै आएको रिजालले बताए ।
अहिले उक्त जातका बोका र पाठीको माग अत्यधिक रहेको र माग पुर्याउन कठिन भएको उनले जानकारी दिए । छिटो तौल बढ्ने, मासु राम्रो हुने र आम्दानी पनि राम्रो हुने भएपछि पछिल्लो समय बोयर बाख्रापालनतर्फ किसान आकर्षित भएका हुन् ।
सामान्यत: ६ महिनासम्मको बोयर पाठापाठी ३० किलोसम्मको हुने गर्छ । किसानले ८० किलोभन्दा बढी तौलका बोका पालेर बिक्री गर्दै आएका छन् । सन् १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रामा छिटो शारीरिक वृद्धि, तौल वृद्धि, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमत्ता बढी हुने र स्थानीय हावापानी अनुकूल भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । -रासस