जिल्लाको मायादेवी गाउँपालिकामा रहेको नेपाल-भारत सीमा क्षेत्रमा पर्ने गौरा छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।
तत्कालीन माओवादी द्वन्दका बेला त्रासका कारण भन्सार कार्यालय विस्थापित भएको थियो । मुलुकमा शान्ति स्थापना भएको १० वर्ष बित्दा पनि कार्यालय अझै पूर्ण सञ्चालनमा आउन सकेको छैन ।
भन्सार सञ्चालनमा नआउँदा बलुहवा, तितिर्खी, हरनामपुर, दोहनी, गौरीका बासिन्दा, व्यवसायीले नेपाल-भारततर्फ सरसामान आयात-निर्यात गर्न नपाउँदा मर्कामा परेको स्थानीय मानिकराम यादव बताउँछन् । आफूहरुलाई भारतबाट ल्याएको मालसामान र सवारीसाधन भन्सारका लागि मर्यादपुर धाउनुपर्ने बाध्यता रहेको मायादेवी गाउँपालिका ४ की गरिबुन निसा बताउँछिन् । उनले तत्काल भन्सार कार्यालय स्थापना गरी सेवा दिन आवश्यक रहेको बताइन् ।
कार्यालय नहुँदा सीमा क्षेत्रका बासिन्दाले लुकीछिपी मालसामान ओसारपोसार गरिरहेका छन् । जसले राजस्वसमेत गुमेको छ ।
राजस्व संकलन, चोरी निकासीमा रोक तथा स्थानीय व्यापारी तथा सर्वसाधारणहरुलाई राज्यको सेवा तथा सुविधा सहज प्रदान हुने भन्दै मायादेवी गाउँपालिका ५ का मोहम्मद सईले तत्काल कार्यालय स्थापना हुनुपर्ने बताए । गौरा छोटी भन्सार कार्यालयको अनुगमन गरी भन्सार सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार उल्लेख गरी केन्द्रमा जानकारी पठाएको सुठौली भन्सार कार्यालयका प्रमुख तीर्थराज पासवानको दाबी छ । 'तर भौतिक पूर्वाधारको विकासका साथै भन्सार ऐन संधोधन भएपछि मात्रै कार्यालय सञ्चालनमा आउन सक्छ,' उनले भने, 'यो कार्यालयबाट एक-पटकमा एकजनाको ५ हजार रुपैयाँसम्मको मात्रै भन्सार गर्न सकिन्छ । यो दर निकै न्यून भयो । यसको परिमार्जन हुँदै छ ।'