नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको छ। राष्ट्र बैंककाे आज बसेकाे बोर्ड बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।
डेपुटी गभर्नर श्रेष्ठ माथि छानविन गर्न राष्ट्र बैंक सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ। पौड्यालको संयोजकत्वमा गठित समितिमा राष्ट्र बैंककै सञ्चालकद्वय रामजी रेग्मी र सुवोधकुमार कर्ण सदस्य छन्।
२०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए। श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसनधानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप छ। यद्यपि, श्रेष्ठले भने उनीमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्। गभर्नरको लाइनमा रहेकाले त्यसबाट रोक्न षड्यन्त्र गरिएको उनको दाबी छ।