नेपाल आयल निगमले घरायसी प्रयोजनका लागि सस्तोमा ग्यास बिक्री गर्ने भएको छ। व्यावसायिक प्रयोजनका लागि भने लागत मूल्यमा नै बिक्री गरिने निगमले जनाएको छ।
घरायसी प्रयोजनका लागि सहुलियत दरमा खाना पकाउने एलपी ग्यास बिक्री गर्ने गर्ने पुरानो निर्णय पुनः कार्यान्वयन गर्न लागिएको हो। नियमनको व्यवस्था नहुँदा दुरुपयोग हुन सक्ने आशङ्का गर्दै केही वर्षदेखि यो व्यवस्था स्थगित गरिएको थियो। अब नियमन संयन्त्र र उपभोक्ताको विवरण राख्ने प्रणाली बनाएर सहुलियत मूल्यमा ग्यास वितरण गरिने निगमका अधिकारीहरूले जनाएका छन्।
घरायसी प्रयोग गर्ने उपभोक्तालाई सहुलियत दरमा ग्यास वितरण गर्ने भन्दै २०७० सालमा दुई प्रकारका सिलिन्डर प्रयोगमा ल्याउने निर्णय निगमले गरेको थियो। जसअनुरूप उद्योगीहरूले सिलिन्डरको रङ्ग पनि परिवर्तन गरे भने उपभोक्ताका लागि कार्ड समेत वितरण गरियो। तर उक्त निर्णय व्यवहारमा लागू हुन सकेन।
अब नियमन र उपभोक्ताको विवरण राख्ने व्यवस्थासहित दुवै खालको सिलिन्डरको व्यवस्था कार्यान्वयनमा ल्याइने निगमका अधिकारीहरुले जनाएका छन्।
नेपालमा ६० प्रतिशत ग्यास घरायसी प्रयोजन र ४० प्रतिशत व्यावसायिक प्रयोजनमा खपत हुने गरेको अनुमान गरिन्छ।