चीन सरकारको सहयोगमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड झन्डै दुई दशकदेखि बन्द छ।
आन्तरिकसँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि उद्योग बन्द गर्ने निर्णयमा तत्कालीन सरकार पुगेको थियो। बन्द भएको सुती कपडा उत्पादन गर्ने रोजगारमूलक उद्योग पटक पटक पुनः सञ्चालनको तयारी भए पनि असफल हुँदै आएको छ।
एक हजार चार सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यका साथ स्थापना गरिएको उद्योगले बन्द हुँदाको समयमा एक हजार १५० जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएकोमा पछिल्लो समय सशस्त्र प्रहरी बलको बेस क्याम्पमा परिणत भएको छ।
२०५७ सालमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरी उद्योगमा कार्यरत कामदार कर्मचारीले पाउने सेवा सुविधाबापतको सम्पूर्ण दायित्व भुक्तानी गरेर बन्द गरिएको थियो।
कपडा उद्योग २०६९ माघ १५ गते सरकारले निर्णय गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जिम्मामा दिइएको छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले उद्योग पुनः सञ्चालनको चर्चा चलिरहेको बताउँदै उद्योगमा पछिल्लो समय औद्योगिक क्षेत्रको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बल बस्दै आएको बताए।
उद्योग पुनः सञ्चालनमा ल्याउन अर्थ मन्त्रालयमा छलफल चलिरहेको छ, क्षेत्र व्यवस्थापक कँडेलले भन्नुभयो, तर कुन मोडलमा कसले र कसरी सञ्चालनमा ल्याउने भनेर निर्णय हुन सकेको छैन। वि.सं. २०३१ सालमा स्थापना भएको उद्योगले २०३५ कात्तिकमा परीक्षण उत्पादन र पुस १५ मा हस्तान्तरण गरी व्यावसायिक उत्पादन थालेको थियो।
एक हजार ४६८ कपास बनाउने स्पिन्डल र ४८६ वटा सुती कपडा बुन्ने स्वचालित तान रहेको बन्द कपडा उद्योगमा दैनिक दुई हजार २५० टन कपास खपत गर्ने र १८ हजार मिटर कपडा बुन्ने क्षमताको अतिरिक्त २५० टन सुती धागो उत्पादन क्षमता रहेको थियो। गाेरखापत्रमा खबर छ।