नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्र मुलुकको पूर्वी क्षेत्रमा देखिएका विद्युतसम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताएका छन्।
उद्योग संगठन मोरङले विराटनगरमा आज गरेको अन्तरक्रिया कार्यक्रम उनले लोडसेडिङ अन्त्य भइसकेकाले अव विद्युतसम्बन्धी सबै समस्या पनि चाँडै समाधान हुने बताए। लामो समयदेखि नेपाली जनताले भोग्दै आएको लोडसेडिङ समस्या अन्त्य गर्न सफल भएकाले पनि अब विद्युत वितरणमा कुनै समस्या नहुने उनको भनाइ थियो।
घिसिङले असमान लोडका कारण स्विचिङ र ट्रिपिङको समस्या रहेको बताउँदै त्यसको निराकरणमा प्राधिकरण लागिपरिेको बताए। दुहबीस्थित ट्रान्समिटरमा समेत ओभरलोड हुनथालेका कारण समस्या देखिएको उल्लेख गर्दै उनले ट्रान्समिटरको क्षमता अभिवृद्धि गर्न पहल थालिसकिएको जानकारी दिए।
सहभागी उद्योगीहरूले कार्यकारी निर्देशकलाई विद्युतसम्बन्धी भोग्नुपरिरहेको समस्या राखेका थिए। उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले पूर्वक्षेत्रमा वितरण हुँदै आएको विद्युत मुजफ्फरपुर वा कटैयामध्ये कुनै एकठाँउबाट मात्र दिए समस्या समाधान हुनसक्ने भएकाले त्यस्तो ब्यवस्था गर्न आग्रह गरे। विद्युत आउनेजाने समस्याका कारण उद्योगीले भारी क्षति बेहोर्नु परिरहेको उनको भनाइ थियो । अध्यक्ष घिमिरेले लोडसेडिङ अन्त्य भए पनि आफूहरुले स्वीचिङ र ट्रिपिङको समस्या झेल्नु परिरहेको बताए।
दैनिकजसो दिनको १० भन्दा बढी पटक लाईन आउनेजाने समस्याका कारण उद्योगीले ठूलो समस्या झेल्नुपरेको उद्योग संगठन मोरङका उपाध्यक्ष राकेश सुरानाले बताए।
उनले उद्योगीले उद्योग परिसरमा जडान गरेको ट्रान्सफर्मर बिग्रँदा टेस्टिङकालागि हेटौंडा लानुपरिहेको बताउँदै विराटनगरमै त्यस्तो ब्यवस्था मिलाउन माग गरे।
आयोजक संस्थाका पुर्व अध्यक्ष शिवशंकर अग्रवालले बैंकमार्फत विद्युत महसुल तिरे पनि सोही दिन प्राधिकरणको रसिद नकटाउन सकेको खण्डमा जरिवाना तिनुपर्ने अवस्थालाई अन्त्य गर्न माग गरे।
मोरङ ब्यापार संघका कार्यवाहक अध्यक्ष नविन रिजालले नगरक्षेत्रमा रहेका विद्युतसम्बन्धी समस्या समाधान गरेर आफ्नो नामको मान स्थापित गर्न घिसिङसमक्ष आग्रह गरे।