गैरआवासीय नेपालीको नवौं विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। हायात होटलमा आयोजित सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्।
समारोहलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरिन्। उनले मुलुकमा राजनीतिक स्थायित्व भएको र स्थिर सरकार पनि भएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरिन्। विशेषगरी पूर्वाधारका क्षेत्रमा लगानी गर्न उनको आग्रह थियो।
सम्मेलनमा सरकार, राजनीतिक दल, उद्यमी व्यवसायी र सङ्घलाई एकै ठाउँमा सहभागिता गराई मुलुकको आर्थिक विकासमा छलफल गरिने उपाध्यक्ष कुमार पन्तले बताए। उनले नेपालको आर्थिक उन्नतिका लागि सङ्घका सदस्यले सिकेको ज्ञान, सीप र प्रविधिलाई भित्र्याउन सङ्घ प्रतिबद्ध रहेको बताए।
‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ सम्मेलन सुरुभएको हो। सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० सहभागी उपस्थित हुने छन्।
सङ्घका अध्यक्ष भवन भट्टले सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गरिने बताए। उनका अनुसार ऊर्जा, पर्यटन, पूर्वाधार विकासमा करीब सय अर्ब लगानी गर्ने योजना छ। उनले सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न ऊर्जा प्रदान गर्दै ‘नेपालका लागि नेपाल’ भन्ने मूल मन्त्रलाई सार्थक बनाउने विश्वास व्यक्त गरे।
सङ्घका प्रवक्ता भुषण घिमिरेका अनुसार सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा उच्चस्तरिय आयोजक समिति, सङ्घका अध्यक्ष भट्टको संयोजकत्वमा सङ्घको आन्तरिक आयोजक समिति गठन गरिएको छ।
असोज ३० गतेसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा सङ्घको भूमिकालगायत विभिन्न सात शीर्षकमा छलफलसमेत हुने प्रवक्ता घिमिरेले जानकारी दिए। महाधिवेशनले सङ्घको नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने जनाएको छ। नयाँ नेतृत्वका लागि कुल आचार्य र कुमार पन्तबीच प्रतिस्पर्धा हुँदैछ। सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई(दुई वर्षमा निर्वाचन हुने गर्दछ। कूल ४२ पदका लागि बुधबार दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ। सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली काठमाडौं आएका छन्।