सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
बुधबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गरे । प्रधानमन्त्री ओली मुलुकको बिकासमा ढिलासुस्ती स्वीकार हुन नसक्ने बताए ।
अप्टीकल फाइवरको काम पनि छिटो गर्न निर्देशन दिदै उनले ढिलाई गरेर मुलुकलाई नोक्सानी गर्नेकाम पनि स्वीकार्य नहुने बताए । उनले लापरवाही भए त्यसलाई हटाई समयमानै काम सम्पन्न गर्नुपर्ने जोड दिए । प्रधानमन्त्री ओलीले सञ्चार क्षेत्रको बिकासमा बाधा उत्पन्न गर्नेलाई कारवाही गर्न सञ्चारमन्त्रालयलाई निर्देशन पनि दिए । बिकासको बाटोबाट देशलाई व्यवधान गर्ने बिषयमा सवै सजक हुनुपर्ने उनको भनाई छ ।
टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ ।
सातै प्रदेशका मुख्यमुख्य शहरमा फोरजी सेवा विस्तार गरिएको छ । गत असार मसान्तको विवरणअनुसार हाल टेलिकमका ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।