अहिले राजधानी उपत्यकामा मात्र होइन मुलुकभरै प्याजको भाउ ह्वात-ह्वात बढिरहेको छ । कमाउने मौका यही हो भन्दै व्यापारीहरु पनि गोदाममा मौज्दात प्याज लुकाउन थालेका छन् । यता उपभोक्ता भने बजारमा सीमित मात्रामा रहेको महँगो प्याजले भान्सा चलाउन बाध्य छ । चाडबाड आगमनसँगै प्याजको खपत पनि अरुबेला भन्दा तुलनात्मक बढी हुने गर्छ । यही मौकामा प्याजको भाउ छोइनक्नु भएर बढेको छ ।
नेपालमा मात्र होइन प्याजको भाउ त भारतमा पनि बढेकै छ । भारतबाट आयात हुने प्याजले नेपाली बजार धानेको थियो । अहिले भारतमै खपत बढ्दो र उत्पादन घट्दो अवस्थामा रहेपछि भारतीय उपभोक्ताले पनि महँगोमा प्याज खरिद गर्नुपर्ने अवस्था छ । भारत सरकारले प्याजको माग बढेसँगै नेपाल निर्यातमा रोक लगाएसँगै नेपाली उपभोक्ताले किन्दै आएको ३५ रुपैयाँ किलो प्याजको भाउ एक्कासि १ सय ५० मा पुगेको हो ।
आफ्नो उत्पादन आफैं खाने भन्दै भारतले नेपालतर्फ प्याज भित्रन नदिँदा चाडबाटको मुखैमा महँगोमा किन्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर गोदाममा भएको प्याज पनि व्यापारीले लुकाएर राख्दा बजारमा माग ह्वातै बढेको हो ।
दिनप्रतिदिन महँगो हुँदै गएको प्याज गएको आइतबार मात्र भारतले नेपालतर्फ निर्यात नगर्ने भन्दै त्यहाँका सञ्चारमाध्यममा समाचार सार्वजनिक भएसँगै यहाँका व्यापारीहरुले चतुर्याइँपूर्वक भएको प्याज पनि लुकाउन थालेका हुन् ।
भारतीय निर्णयको असर नेपालमा परेसँगै थोकदेखि खुद्रा व्यापारीहरुले यसअघि नै खरिद गरी मौज्दात रहेको प्याजलाई कृत्रिम अभाव सिर्जना गरेको अवस्था छ । अहिले यही कृत्रिम अभाव गराउने व्यापारीहरुले नै मनलाग्दी प्याजको भाउ तय गरेर उपभोक्तासमक्ष पठाउन थालेका छन् । यसले उपभोक्तालाई मार त पर्छ नै चाडबाडमा कसरी उपभोग गर्ने भन्ने अर्को चिन्ता थपिएको छ ।
गतवर्ष यो बेला प्रतिकेजी ३० रुपैयाँ किलो पर्ने प्याज अहिले भने झन्डै १ सय ५० रुपैयाँको हाराहारीमा पुगेको छ । खुद्रा पसलमा त अझ मनपरि भाउ छ । काठमाडौं उपत्यकाको ठूलो तरकारी बजार कालीमाटीमा हिजो मंगलबार जम्मा ३ टन प्याज आयात भएको देखिन्छ । यसअघि कालीमाटीमा दैनिक २२ देखि २५ टन प्याज आयात हुने गर्थ्यो ।
अझ भन्नुपर्दा हामी प्याजमा भारतसँग परनिर्भर भएकै कारण अहिले भाउ पनि अचाक्ली बढेको मान्न सकिन्छ । भारतीयहरुले अन्य मुलुकमा निर्यात भएकाले भाउ महँगो भएको भन्दै चर्को विरोध गरेपछि त्यहाँको सरकारले प्याज निर्यातमा रोक लगाएको थियो । भारत सरकारको यही निर्णयका कारण नेपालमा पनि प्याज आयात हुन रोकिएको हो । यही रोकिएको मौकामा यहाँका व्यापारीले कृत्रिम अभाव उत्पन्न गराइ उपभोक्ताको ढाड सेक्ने काम गरेका छन् । नेपालमै पकेट क्षेत्र घोषणा गरी प्याज उत्पादनलाई बढावा दिएको भए अहिले नेपाली उपभोक्ताले महँगोमा भारतीय प्याज खानु पर्थेन अनि व्यवसायीले भएको प्याजलाई लुकाएर कालोबजारी गर्नुपर्ने अवस्था पनि आउनेथिएन ।
तसर्थ प्याज उत्पादनमा जोड दिने हो भने योपटक महँगोमा प्याज उपभोग गर्ने उपभोक्ताले अर्को वर्ष यस्तै अवस्थाको सामना भने गर्नुपर्ने थिएन ।