सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ भएको थियो। यसपालि झन्डै २४ खर्ब पुग्ने अनुमान छ। दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एकतिहाइ सकिन्छ।
त्यस आधारमा यो दसैंमा ८ खर्ब रुपैयाँ सकिँदैछ। तर, त्यसको ४० प्रतिशत नगद ननिकाले पनि हुन्छ। जस्तो– आफ्नै उत्पादन, सरसामान आदि। ६० प्रतिशत भने पैसै चाहिन्छ। यसरी हेर्दा यो दसैंमा ५ खर्ब रुपैयाँ प्रवाह हुनेछ।
‘वर्षभरिको हुने खर्चको एकतिहाइ दसैंमा सकिन्छ’, अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन। घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछासुसमेत बुझिन्छ। कुल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुने अनुमान गर्न सकिन्छ।’
दसैं आयो। बजारमा चहलपहल बढेको छ। किराना सामानदेखि लुगा–कपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिजलगायत सरसामान खपत हुन्छन्।
सार्वजनिक सवारीसाधन, होटल/रेस्टुरेन्ट, एयरलाइन्सको व्यापार पनि बढ्छ। चाडपर्व केन्द्रित विक्रेता तथा सेवाप्रदायकले विभिन्न ‘अफर’ ल्याएका छन्।
‘दसैं व्यापारले वर्षभरिको व्यापार चक्रलाई ठूलो भरणपोषण गर्छ,’ अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का सचिव अनुपकुमार बराल भन्छन्। टिकाउ वस्तुहरू फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायतका खरिदकर्तामा दसैं अफर पर्खने बानी परेको छ। इन्टरनेट सेवा प्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवा प्रदायक तथा होटल/रेस्टुरेन्टले पनि दसैं लक्षित प्याकेज ल्याएका छन्।
दसैंले बजार गुलजार बनाउने भएकाले फूलपातीअघिसम्म विक्रेताले छुट र उपहारका विविधि स्किम ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेका छन्। उपत्यका र बाहिरका पुराना बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दसैं केन्द्रित किनमेलको चाप बढ्दो छ। अन्नपपूर्ण पाेस्टमा खबर छ।