झापाको अर्जुनधारा ५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भान्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन् ।
उनीहरुले फार्मको नाम पनि ‘मामा-भान्जा सिर्जनशील कृषि फार्म’ राखेका छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँघरमै बसेर आधुनिक खेती गर्नु उचित ठान्दै लहरे तरकारी खेतीमा होमिएको मामा भक्त बताउँछन् ।
उनीहरुको फार्ममा बेमौसमी लहरे तरकारी खेती लहलहाएको छ । यसैबाट दुवै मिहिनेती भएको पुष्टि हुन्छ । तरकारी बेचेर वार्षिक १८ लाख रुपैयाँ नाफा हुने भान्जा निर्मलले बताए । सुरुमा फार्म खोल्दा ८ कठ्ठा लिजमा लिएको र मनग्य आम्दानी दिन थालेपछि अहिले १२ बिघा थप लिजमा लिएर तरकारीको व्यावसायिक खेती गरिरहेको उनीहरु बताउँछन् ।
मामा-भान्जा फार्ममा जुनसुकै मौसममा करेला, बोडी, काक्रा र टमाटर लटरम्म फलेका हुन्छन् । ‘पानी जम्ने ३ बिघामा धान फलाउँदैछौँ,” कृषि कर्मबाट सन्तुष्टि मिलेको जनाउँदै भक्तले भने, “धान काटेपछि त्यहाँ फेरि टमाटर लगाउँछौँ ।”
उत्पादन भएको तरकारीको बजारमा समस्या छैन । नजिकको बिर्तामोड, शनिश्चरे, चारपाने, चारआलीलगायत बजारमा तरकारी खपत हुने गरेको छ । बोडी प्रतिकिलो ६०, करेला ५० देखि ६० र काँक्रा ४५ रुपैयाँमा बिर्तामोडस्थित कृषिथोक बजारमा लगेर बेच्ने गरिएको उनले बताए ।
मामा-भान्जा फार्ममा यतिबेला १ बिघामा काँक्रा, डेढ बिघामा करेला र ८ कठ्ठामा बोडीले धमाधम आम्दानी दिइरहेको छ । बाँकीमा बिरुवा हुर्किरहेका छन् । फार्ममा काम गर्न स्थानीय १५ युवाले रोजगारीसमेत पाएको बताउँदै फार्म सञ्चालक निर्मलले भने, “अर्काको मुलुकमा गुलामी गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउनु धेरै जाति ।”
अर्जुनधारा नगरपालिकाले परिश्रमी किसान अर्जुन र भक्तलाई औजार खरिदमा गत आवमा ६० हजार रुपैयाँ अनुदान दिएको थियो । अधिकारी नगरपालिकाले किसानबाट उत्पादित तरकारी बेच्न बिक्री कक्ष खोलिदिने हो भने बिचौलियाबाट जोगिन सकिने बताए । मामा-भान्जाले मज्जाले कृषि फार्म चलाएको देखेर अर्जुनधारा ५, ८ र ११ मा डम्बर चौधरी र उनका भाइले ‘दाजुभाइ कृषिफार्म’ भर्खरै स्थापना गरेका छन् ।
उनीहरुले सय हेक्टर लिजमा लिएर प्रधानमन्त्री कृषि परियोजना विकासअन्तर्गत तरकारीको पकेट क्षेत्रै तोकेर काम सुरु गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताए । आधुनिक प्रविधिबाट गरिने तरकारी खेतीका लागि कृषि ज्ञान केन्द्रले यस परियोजनालाई २५ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ । -रासस