स्वदेशी वस्तु तथा सेवाको प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि दुईदिने ‘मेड इन नेपाल एक्स्पो हुने भएको छ।
नेपाली युवाउद्यमी मञ्चले आयोजना गर्न लागेको ७ औं संस्करणको ‘मेड इन नेपाल एक्स्पो’ को तयारी पूरा भएको मञ्चले जनाएको छ। मुलुकभित्र स्वदेशी उत्पादन तथा सेवाको विस्तार, लगानी प्रबद्र्धन तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागेको मञ्चका अध्यक्ष निकोलस पाण्डेले बताए। मञ्चले सन् २००६ देखि निरन्तर यस्तो मेला आयोजना गर्दै आइरहेको छ। ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको प्रदर्शनीले सामाजिक जागरुकता र राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउने मञ्चले जनाएको छ।
यस पटकको मेलामा साना उद्यमीलाई पनि अवसर दिएको मञ्चले जनाएको छ। त्यसले साना व्यवसायबाट अगाडि बढेका उद्यमीलाई हौसला प्रदान गर्ने र रोजगारी सिर्जनामा सहयोग पु-याउने अध्यक्ष पाण्डेले बताए।
साना व्यवसायीलाई प्रबद्र्धन गर्न करिब १२ जना उद्यमीलाई निःशुल्क स्टलको व्यवस्थासमेत गरिएको छ। मेलामा श्रृङ्गार, कपडा, जुत्तालगायतका साना ठूला वस्तु तथा सेवाका ७० बढी स्टल रहने मञ्चले जनाएको छ।
दुईदिन चल्ने एक्स्पोमा २० हजारभन्दा बढी व्यक्तिले अवलोकन गर्ने आयोजकको दाबी छ। निःशुल्क प्रवेश दिइने मेलामा खाना महोत्सव, सांस्कृतिक कार्यक्रमसहित बालबालिकाहरूका लागि खेलकुदको व्यवस्थासमेत गरिएको मञ्चले जनाएको छ। मेलामा विभिन्न कलाकारले आफ्नो प्रस्तुतिसमेत दिने छन्।