प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले झन्झटिलो संघीय ऐन कानुनहरूकै कारण लगानीमैत्री हुन नसकेको बताएका छन् ।
तिलोत्तमा नगरपालिकाले बिहीबार रुपन्देहीमा आयोजना गरेको लगानी सम्मेलनमा उनले केन्द्रीकृत र एकात्मक मानसिकता संघीय सरकारले नत्यागेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताए ।
यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय र स्वदेशी उत्पादन अनिवार्य प्रयोगको नीति तीनै तहका सरकारले बनाउनुपर्नेमा जोड दिए ।
पूर्वअर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेल, रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र रुपन्देही क्षेत्र १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले नेपाल–भारत सीमा नाका, देशको मध्यभाग, ६ लेन सडक, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी जस्ता पूर्वाधार र सम्पदाले तिलोत्तमामा गरिने लगानी सुरक्षित हुने धारणा राखे ।
तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले उदघाटन गरेका थिए ।
करिब ५० अर्ब लगानी भित्र्याउने लक्ष्यसहित २२ परियोजना अघि सारिएको सम्मेलनमा नेपालका साथै भारत, चीनसहितका विदेशी मुलुकबाट समेत करिब ५ सय प्रतिनिधि सहभागी भएका छन् ।