नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि भारतीय बजारमा सहज पहुँच, गैरभन्सार अवरोध न्यूनीकरण र नाकामा पूर्वाधार सुधार लगायत प्रमुख एजेन्डामा छलफल गर्ने गरी नेपाल-भारतबीचको वाणिज्य सन्धि पुनरावलोकनका लागि तेस्रो चरणको बैठक बिहीबारबाट नयाँ दिल्लीमा सुरु हुँदै छ।
दुई दिनसम्म चल्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा नौ सदस्यीय नेपाली टोली सहभागी हुँदै छ।
बैठकले अघिल्लो वर्ष फागुनमा पोखरामा भएको समितिको दोस्रो बैठकमा भएका एजेन्डाहरुलाई अन्तिम रुप दिने विश्वास गरिएको छ।
दिल्लीमा दुई दिनसम्म चल्ने बैठकमा नेपाली टोलीले भारतीय बजारमा नेपाली उत्पादनको पहुँच विस्तारको विषयलाई उठाउने तयारी गरेको स्रोतको भनाइ छ।
कृषि लगायत भारतका प्राथमिक उत्पादनले पारस्परिकताका आधारमा पाउँदै आएको शून्य भन्सारको सुविधा हटाउने विषयमा पनि बैठकमा छलफल हुने भएको छ। नेपालले यो सुविधाका कारण नेपालको कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको र भारतीय उत्पादनको आयात बढ्न गई व्यापार घाटा बढाएको तर्क राख्दै आएको छ।