आर्थिक वर्ष २०७४/७५ मा मात्रै मुलुकका १४ निजी मेडिकल कलेजको नाफा डेढ अर्ब रुपैयाँभन्दा बढी छ। यो तथ्यलाई संसदीय समितिको छानबिनका क्रममा उनीहरू आफैंले स्विकारेका पनि छन्। तर विद्यार्थीबाट उठाएको अतिरिक्त रकम फिर्ता गर्न चौतर्फी दबाब परेपछि मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना नै रोक्ने चेतावनी दिएका छन्। सरकारले रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय गरेसँगै उनीहरूले आगामी शैक्षिक सत्रमा कलेज बन्द गर्ने धम्की दिएका हुन्।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित उपसमितिको प्रतिवेदनमा मेडिकल कलेजहरूले २ देखि ६६ प्रतिशतसम्म नाफा कमाएको उल्लेख छ। कलेजहरूले बुझाएको आयव्यय विवरणकै आधारमा तयार पारिएको उक्त प्रतिवेदनअनुसार पोखराको मणिपाल शिक्षण अस्पतालले सबैभन्दा बढी ६५.८१ प्रतिशत लाभांश बाँडेको छ। आर्थिक वर्ष २०७४/७५ मा मणिपालले ३४ करोड ४० लाख नाफा कमाएको थियो। गण्डकी मेडिकल कलेजले ७ करोड ८१ लाख मुनाफा कमाएको प्रतिवेदनमा छ। सेयर पुँजी ८९ करोड ९२ लाख रहेको यो कलेजविरुद्ध अवैध शुल्क असुलीको आरोपमा विद्यार्थीले ठगी मुद्दा दर्ता गराएका छन्।
उक्त आर्थिक वर्षमा नोबेल मेडिकलले १९ करोड ६० लाख, काठमाडौं मेडिकलले १९ करोड ७२ लाख, चितवन मेडिकलले १४ करोड २६ लाख, चितवन मेडिकल कलेज अफ साइन्सेसले १ करोड ५८ लाख, नेसनल मेडिकल कलेज वीरगन्जले ११ करोड ६१ लाख, विराट मेडिकल कलेजले ३ करोड ७० लाख, युनिभर्सल मेडिकल कलेज भैरहवाले ९ करोड ५९ लाख, लुम्बिनी मेडिकल कलेज पाल्पाले १४ करोड १५ लाख, नेपालगन्ज मेडिकल कलेजले १० करोड ३० लाख, नेपाल मेडिकल कलेजले १६ करोड ६९ लाख, काठमाडौं डेन्टल कलेजले ५४ लाख र पिपल्स डेन्टल कलेजले ४८ लाख नाफा कमाएका छन्। प्रतिवेदनअनुसार २०७३/७४ मा ३ प्रतिशत मुनाफामा रहेको किस्ट मेडिकल कलेज २०७४/७५ मा भने घाटामा छ। जानकी र देवदह मेडिकल कलेजले भने उपसमितिलाई विवरण बुझाएका छैनन्।
कलेजहरूले विद्यार्थीसँग १० लाखदेखि ४० लाखसम्म बढी शुल्क लिँदै आएको प्रतिवेदनको ठहर छ। अवैध शुल्क नअसुल्न र असुलेको फिर्ता गर्न दबाब परेपछि कलेज सञ्चालकहरूले एमबीबीएस र बीडीएसमा भर्ना नलिने अडान लिएका हुन्। विद्यार्थी भने प्रवेश परीक्षा सकेर भर्नाको तयारीमा छन्। यथास्थितिमा शैक्षिक सत्र २०७६/७७ का लागि विद्यार्थी भर्ना नलिने निजी कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले जनाएको छ। कान्तिपुरमा खबर छ।