अर्थमन्त्री डा युवराज खतिवडाले आज त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गरेका छन्। त्यसअवसरमा उनले राजस्व प्रशासनमा स्वच्छता, पारदर्शीता र कुशलता कायम गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए ।
खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायी मैत्री रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी रुपमा तयारी गर्न नागरिक उडड्यन विभागसँग समेत पर्याप्त सहकार्य गर्नुपर्ने बताए।
विमानस्थलमा अन्य निकायको समेत समन्वय हुने भएकाले प्रभावकारी, छिटोछरितो र सहज रुपमा सेवा दिनुपर्नेमा सम्बन्धित सबै निकायलाई समेत उनले निर्देशन दिए।
मन्त्री खतिवडाले भन्सारमा रहेका मालवस्तु तथा सामानहरुको समयमै निकासी तथा लिलामी गरि काम नलाग्नेलाई स्टलमा नराखी खाली गर्नसमेत निर्देशन दिए। तोकिएको राजस्व पुरा गर्न सबै प्रकारका प्रयास गर्ने, आवश्यक जनशक्ति व्यवस्थापनमा अर्थ मन्त्रालय र भन्सार विभागले ध्यान दिनसमेत उनले निर्देशन दिए।