नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भोलि हुने निर्वाचनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।
संघको २७ औं साधारणसभा तथा निर्वाचनका लागि नेपाली कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरु नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष विष्णु गैरे तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरमनिकट व्यवसायीहरु प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष तथा संघका वर्तमान महासचिव सरोजकुमार पोखरेल नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्षसहित सात पदाधिकारी र दश जना कार्यसमिति सदस्यका लागि ३४ उम्मेदवार चुनावी मैदानमा छन् । लोकतान्त्रिक प्यानलबाट अध्यक्षका उम्मेदवार बनेका गैरेले यसअघि व्यवसायीहरुले प्रगतिशील प्यानललाई जिताए पनि संघको नेतृत्व दुईवर्षसम्म जालझेल गरेर व्यवसायीको हितविरुद्ध लागेकाले अब व्यवसाय बचाउन पनि लोकतान्त्रिक प्यानललाई मतदान गर्न आग्रह गरे।
फोरमका उम्मेदवारहरुलाई संघको नेतृत्वमा विजयी गराए कार्यतालिका बनाएर ठोस योजनासहित काम गर्ने उनको भनाइ छ ।
उता प्रगततिशील प्यानलका उम्मेदवार भने संघको वर्तमान नेतृत्व वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्न लागि परेकाले त्यससको निरन्तरतास्वरुप आफ्नो प्यानललाई जिताउनुपर्ने दावी गर्दै आएका छन् ।