चिनियाँ क्षेत्रमा बिग्रिएको सडक मर्मत थालिएपछि उत्तरको मुख्य तातोपानी नाकाबाट हुने आयात व्यापार दुई दिनेदेखि रोकिएको छ। चीनले खासा बजार क्षेत्रमा चर्किएको सडक मर्मत थालेपछि शनिबारदेखि आयात रोकिएको हो।
चिनियाँ अधिकारीले सडक मर्मत गर्न एक साता लाग्ने र त्यतिञ्जेल कारोबार रोकिने जानकारी पठाएको तातोपानी सुक्खा बन्दरगाहका भन्सार अधिकृत केशवराज ओलीले बताए। ‘सामग्री आउन छोडेपछि भन्सार कारोबार पनि ठप्प छ,’ उनले नागरिकसँग भने। उनका अनुसार बर्खामा चर्किएको सडक चीनले अहिले मर्मत थालेको हो।
योसँगै चीन जोड्ने उत्तरका प्रमुख दुवै नाका बन्द हुन पुगेका छन्। बर्खाले पहिरो निम्त्याउँदा सडक अवरुद्ध हुन गई उत्तरको अर्को रसुवागढी नाका दुई सातादेखि बन्द छ। रसुवाको राम्चे क्षेत्रमा पहिरो गइ सडक अवरुद्ध हुँदा आयात/निर्यात व्यापार ठप्प हुँदै आएको छ। भूकम्पपछि तातोपानी नाकाबाट हुने कारोबार स्थान रसुवागढीले लिँदै आएको छ। दसैंको मुखमा आयात बन्द हुँदा नेपाली व्यापारी मारमा परेका छन्। चाडबाड लक्षित सामग्री भित्रिरहेका बेला दुवै नाका बन्द भएका हुन्। नागरिक दैनिकमा खबर छ।