नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ।
निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ। घटेको मूल्य अनुसार अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ।
यसैगरी, निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ। निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ । सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य समायोजन भएसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने निगमले विश्वास लिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने बताएका थिए । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।