अर्थमन्त्री युवराज खतिवडाले देशको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।
उनले अर्थतन्त्रको बुझाइ त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराए । आफूले नीति, निर्माणको तहमा २५-३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्त किन पालना हुँदैनन् ? भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै खतिवडाले अर्थतन्त्रबारे नबुझी हल्का टिप्पणी गर्न नमिल्ने बताए ।
काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उदघाटन कार्यक्रममा बिहीबार उनले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले कुन मोडल ठीक हुन्छ ? भनेर यकिन गर्ने अवस्था नरहेको स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढ्दै गइरहेका बेला खुला अर्थतन्त्र देशका लागि उपयुक्त हुने-नहुने बहसको विषय भएको पनि बताए ।