चालु वर्षको पहिलो दुई महिनामा सरकारी लक्ष्यको तुलनामा २६ अर्ब २३ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ। गत आर्थिक वर्षदेखि नै बजेटमा लक्षित राजस्व, वैदेशिक सहयोग र आन्तरिक ऋण परिचालन कमजोर देखिएको छ।
बजेटमा खर्च व्यहोर्ने राजस्व, वैदेशिक सहयोग र आन्तरिक ऋण परिचालन कम हुँदा बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ। गत आवमा सरकारले दुई खर्ब ५३ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा एक खर्ब ८६ अर्ब ६७ करोड रुपैयाँ मात्र परिचालन भएको अर्थ मन्त्रालयले जनाएको छ। गत आवको तुलनामा सरकारले चालु वर्षको बजेटमा वैदेशिक ऋण प्राप्त गर्ने अनुमान बढाएर दुई खर्ब ९८ अर्ब रुपैयाँ पुर्याएको छ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्री बजेटले अनुमान गरेका लगानीका स्रोतको अवस्था कमजोर देखिएकाले बजेटमा अनुमानअनुसारको स्रोत परिचालन हुनेमा आशंका व्यक्त गर्छन्। ‘सरकारले बजेटमा लगानीको स्रोत व्यवस्थापनमा गरेको आँकलन यो वर्ष पनि कमजोर हुने देखिन्छ,’ उनले भने, ‘जसले गर्दा बजेटको विश्वसनीयतामाथि प्रश्न उठेको छ।’
त्यसो त चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेटको आकार नै अस्वाभाविक भएको अर्थशास्त्रीहरूले टिप्पणी गरेका थिए।
क्षत्रीका अनुसार निजी क्षेत्रमा सरकारले उत्पन्न गरेको सन्त्रासका कारण अपेक्षित रूपमा आर्थिक क्रियाकलाप विस्तार हुन नसक्दा राजस्व प्राप्ति कमजोर देखिएको हो। ‘लगानीका स्रोत कम हुँदा यथार्थपरक बजेट बनाएर उपलब्ध स्रोतको प्राथमिकीकरण गर्नुपर्ने थियो,’ क्षत्रीले भने। उनले दातृ सहयोगको विकास खर्च परिचालनका लागि पहिला सरकारले खर्च गरेर शोधभर्ना लिनुपर्ने भएकाले लगानीका स्रोत कमजोर हुँदा समग्र विकास खर्चमा असर पर्ने बताए। अन्नपूर्ण पाेस्टमा खबर छ।