चाडबाड आगमनसँगै सुनचाँदीको भाउ घट्नेभन्दा पनि बढिरहेको अवस्था छ । यद्यपि आज (बिहीबार) भने सुनचाँदीको भाउ घटेको छ । जसमध्ये छापावाल र तेजाबी सुनमा २ सय रुपैयाँ प्रतितोलाका दरले घटेको छ ।
हिजो (बुधबार) र अस्ति (मंगलबार) ७१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाल सुन आज (बिहीबार) २ सय रुपैयाँले घट्दै ७० हजार ८ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन बिहीबार ७० हजार ५ सय रुपैयाँ प्रतितोलाले कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो र अस्ति तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँ प्रतितोलाले कारोबार भएको थियो ।
यता चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार हिजोको तुलनामा चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेको हो । बुधबार ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी बिहीबार भने ५ रुपैयाँले घट्दै ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
छापावाल र तेजाबी सुन प्रतितोला २/२ सय रुपैयाँका दरले घटेपछि ग्राहक पनि अलिअलि बढेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनको भाउमा थोरै गिरावट आएको हुँदा उपभोक्तालाई थोरै भए पनि राहत भएकै छ ।
पछिल्ला २ महिनायता सुनचाँदीको भाउमा निकै उतारचढाव आइरहेको छ । यद्यपि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएसँगै खपत पनि घट्दो अवस्थामा छ । सुनचाँदीको भाउ घट्दा उपभोक्ता किन्न आकर्षित हुन्छन् भने बढ्दा बेच्न आकर्षित हुने व्यवसायीहरु बताउँछन् । चाडबाड आगमनसँगै सुनचाँदीको भाउ घटबढ भइरहँदा उपभोक्ता पनि घटेको मौका हेरि किन्न थालेका छन् ।
पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गएको छ । यसको मतलब सुनचाँदीको भाउले रेकर्ड राख्ने काम पनि सँगै गरिरहेको छ । आज अलिअलि भाउ घट्दा किन्ने उपभोक्ता पनि केही बढ्ने सुनचाँदी व्यवसायीहरुको अपेक्षा छ ।