चाडबाड लक्षित भन्दै सरकारले ७३ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई चाडबाडमा सस्तो मूल्यमा खाद्यवस्तु उपलब्ध गराउन सहुलियत पसल सुरु गरेको जनाएको छ ।
सहुलियत पसल निरन्तर हुनुपर्ने आपूर्तिमन्त्री मात्रिका यादव बताउँछन् । ‘चाडबाडमा उपभोक्तालाई केही राहतका लागि सहुलियत पसल सञ्चालनमा ल्याइएको हो,’ मन्त्री यादवको भनाइ छ ।
सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानले छुटसहित सामग्री राखेका छन् । तर, यहाँ पुगेका उपभोक्ताहरु भने निराश छन् । अधिकांश सामानको मूल्य बढी छ । सहुलियत पसलबाट बाहिरिँदै गरेका एक उपभोक्ता भन्छन्, 'बिग मार्टको र यहाँको भाउ उस्तै लाग्यो, खासै फरक रहेनछ ।' दुग्ध विकास संस्थानले बेच्ने घिउको मूल्य भने बजारका अन्य डेरीको तुलनामा समेत महँगो छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका उपमहाप्रबन्धक श्रीमणि खनालले यस्ता सहुलियत पसलबाट ५ देखि १० रुपैयाँ छुट दिइरहेको बताए । यी पसलमा बासमती चामलमा १०, जिरा मसिनोमा ५, सोना मन्सुलीमा ५, जापनिज चामलमा ५, सिमीमा १० रुपैयाँ छुट दिइएको छ । जिउँदो बोका–खसी र च्याङ्ग्रामा पनि १० रुपैयाँ छुट दिइने तयारी छ । यस्तै, साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ छुट दिएको छ । यी सहुलियत पसल दसैं, तिहार, छठलगायत चाडपर्व लक्षित गरी सञ्चालन गरिएको हो । अस्ति (भदौ २३ गते) बाट सञ्चालनमा आएको सहुलियत पसल कात्तिक २७ गतेसम्म चल्नेछ ।
चाडको मुखैमा सबैको भाउ अचाक्ली
चाडको मुखैमा दैनिक उपभोग्य सामानको भाउ अचाक्ली बढ्दा उपभोक्तालाई दैनिक जीवनयापनमा सकस भएको छ । दसैंतिहार पनि नजिकिएसँगै किनमेलको चटारो पनि उस्तै छ । बजार भाउले उपभोक्ताको ढाड सेकेको छ । सामान्य दैनिक मजदुरी गरी खानेलाई त चाडबाड पार लगाउन त महाभारतै पर्ने देखिन्छ । अनियन्त्रित बजार भाउ बढ्नुले सबैको खर्चको दर पनि ह्वात्तै बढेको छ ।
गृहणीलाई भान्सा चलाउनै सकस, व्यवसायीलाई व्यापार धान्नै मुस्किल, सामान्य जागिरेलाई घरचलाउनै गाह्रो छ । यस्तै चाडबाड आरम्भ हुने संकेत पाउनेबित्तिकै व्यापारीसँगै बिचौलियाहरु पनि सल्बलाउने गर्छन् । यिनै बिचौलिया र व्यापारीहरुकै कारण सस्तो तरकारी पनि महँगोमा किन्न उपभोक्ता बाध्य छन् । हरियो तरकारीसँगै सागको भाउ पनि अचाक्ली बढेको छ । अहिले साग प्रतिमुठा ५० रुपैयाँभन्दा तल पाउन सकिँदैन । तर पनि एकमुठो साग एक छाक पुग्दैन । छाक पुर्याउन त २ मुठा किन्नुपर्ने बाध्यता उपभोक्तालाई छ ।
अस्ति शनिबार (भदौ) २१ गतेबाट सरकारले दूध र दूधजन्य पदार्थको मूल्य पनि ह्वात्त्तै बढाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँका दरले बढाएको दूध अब उपभोक्ताले दही, पनिर तथा दूधबाट बनेका हरेक परिकारमा बढेको मूल्य तिर्नुपर्नेछ ।
७० रुपैयाँ प्रतिलिटर पाइने दूध ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान (डीडीसी) ले जनाएको छ । बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउनेछन् ।
माछामासुको भाउ समेत छोइसक्नु छैन । ९ सय ५० देखि हजार रुपैयाँ प्रतिकिलोमा पाइने खसीको मासु ठाउँ हेरी महँगिएको छ । अहिले खसीको मासु प्रतिकिलो १३ सयदेखि १५ सय रुपैयाँ पुगेको छ । कुखुराको मासु पनि झन्डै ४ सयको हाराहारीमा पुगेको छ । अन्डा प्रतिक्रेट ३ सय रुपैयाँ नाघेको छ । माछाको भाउ ४ सय ५० देखि हजार रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । चाडबाडमा धेरै खपत हुने फलफूल र गेडागुडीको भाउमा पनि व्यापारीहरुले मनोमानी ढंगले बढाएका छन् ।