चाडबाड आगमनसँगै सुनचाँदीको भाउ घट्नेभन्दा पनि बढिरहेको अवस्था छ । यद्यपि आज (मंगलबार) भने सुनचाँदी दुवैके भाउ घटेको छ । जसमध्ये छापावाल तथा तेजाबी सुन प्रतितोला ७/७ सय रुपैयाँका दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीमा भने १० रुपैयाँ मात्र घटेको छ । सुनचाँदीको भाउ थोरै गिरावट आएको हुँदा उपभोक्तालाई अलिअलि भए पनि राहत भएकै छ ।
हिजो (सोमबार) प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज भने ७ सय रुपैयाँ घट्दै ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला २ महिनायता सुनचाँदीको भाउमा निकै उतारचढाव आइरहेको छ । आज मंगलबार तेजाबी सुन भने ७० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । हिजो सोमबार भने ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै हिजोको तुलनामा चाँदीमा भने प्रतितोला १० रुपैयाँका हिसाबले घटेको छ । चाँदीको भाउ अस्ति आइतबार ८ सय ८५ रुपैयाँमा कारोबार भयो भने हिजो सोमबार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज मंगलबार भने चाँदी १० रुपैयाँ प्रतितोलाले घट्दै ८ सय ७० मा कारोबार भइरहेको छ ।
सुनचाँदीमा मूल्य घट्दा उपभोक्तालाई केही राहत भएको महासंघले जनाएको छ । यता सुनचाँदीको मूल्यमा उतारचढाव देखिएसँगै खपत पनि घटेको अवस्था छ । सुनचाँदीको भाउ घट्दा उपभोक्ता किन्न आकर्षित हुन्छन् भने बढ्दा बेच्न आकर्षित हुने महासंघले जनाएको छ । चाडबाड आगमनसँगै सुनचाँदीको भाउ घटबढ भइरहँदा उपभोक्ता पनि घटेको मौका हेरि किन्न थालेका छन् ।
पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गएको छ । यसको मतलब सुनचाँदीको भाउले रेकर्ड राख्ने काम पनि सँगै गरिरहेको छ । आज अलिअलि भाउ घट्दा किन्ने उपभोक्ता पनि केही बढ्ने सुनचाँदी व्यवसायीहरुको अपेक्षा छ ।