अहिले नेपाली समाज चाडको मुखैमा छ । अझ हिन्दुधर्मावलम्बीको महान चाड दसैंतिहार पनि नजिकिँदै छन् । किनमेलको चटारो पनि उस्तै छ । उता बजार भाउ छोइनसक्नु छ । बजारभाउले उपभोक्ताको ढाड सेकेको छ । सामान्य दैनिक मजदुरी गरी खानेलाई त चाडबाड पार लगाउन त महाभारत नै पर्ने देखिन्छ । अनियन्त्रित बजार भाउ बढ्नुले सबैको खर्चको दर पनि ह्वात्तै बढेको छ ।
सीमित आम्दानीले परिवार चलाउनुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ बजार भाउ यसरी आकासिएको छ कि यसको नियन्त्रणमा स्वयं सरकारसमेत मौन छ । तरकारी, मासु, फलफूल, दूध, दही, नुनदेखि सुनसम्मकै भाउ छुनै नसकिने गरी महँगिएको छ । यसरी सरकारले पनि बजार अनियन्त्रित हुँदै गएको अवस्थामा मौन रहनुले पनि चौतर्फी विरोधका स्वरहरु उठ्न थालेका छन् ।
गृहणीलाई भान्सा चलाउनै सकस, व्यवसायीलाई व्यापार धान्नै मुस्किल, सामान्य जागिरेलाई घरचलाउनै महाभारतको अवस्था अहिलेको छ । दुईतिहाइको शक्तिशाली सरकार रहे पनि सरकारी तवरबाट बजार नियन्त्रणको प्रयास करिब शून्य देखिन्छ । तरकारी बजारमा काउली, टमाटर, काँक्राको भाउ १२० नाघ्न थालेको छ । सामान्य लौका, करेला, फर्सी, मुलाजस्ता तरकारी पनि प्रतिकिलो ८० रुपैयाँ नाघेको अवस्था छ । उसो त किसानबाट आएको तरकारी विभिन्न बिचौलिया पार गर्दै उपभोक्तासम्म आइपुग्दा निकै महँगो पर्ने भएको छ । तरकारी खरिदका लागि किसान र उपभोक्ताको सीधा कनेक्सन हुन सकेको छ ।
यस्तै चाडबाड आरम्भ हुने संकेत पाउनेबित्तिकै व्यापारीसँगै बिचौलियाहरु पनि सल्बलाउने गर्छन् । यिनै बिचौलिया र व्यापारीहरुकै कारण सस्तो तरकारी पनि महँगोमा किन्न उपभोक्ता बाध्य छन् । हरियो तरकारीसँगै सागको भाउ पनि अचाक्ली बढेको छ । अहिले साग प्रतिमुठा ५० रुपैयाँभन्दा तल पाउन सकिँदैन । तर पनि एकमुठो साग एक छाक पुग्दैन । छाक पुर्याउन त २ मुठा किन्नुपर्ने बाध्यता उपभोक्तालाई छ ।
अस्ति शनिबार (भदौ) २१ गतेबाट सरकारले दूध र दूधजन्य पदार्थको मूल्य पनि ह्वात्त्तै बढाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँका दरले बढाएको दूध अब उपभोक्ताले दही, पनिर तथा दूधबाट बनेका हरेक परिकारमा बढेको मूल्य तिर्नुपर्नेछ ।
७० रुपैयाँ प्रतिलिटर पाइने दूध ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान (डीडीसी) ले जनाएको छ । बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउनेछन् ।
नागपञ्चमीपछि चाडबाडले पनि नेपाली समाजालाई छपक्कै छोप्छ । चाडबाड आगमनसँगै हरेक वस्तुमा भाउ बढेको छ । खाद्यान्न, लत्ताकपडालगायत सबैको भाउ बढेको छ । चाडबाड लागेपछि ऋण लिएर पनि खर्च गर्ने परिपाटीले मूल्यवृद्धि गराएको उपभोक्ताले बुझे पनि यसको नियमन र नियन्त्रणका लागि राज्यबाटै पहल थालिनु आवश्यक देखिन्छ । चाडबाडका नाममा हुने कृत्रिम महँगी रोक्न सरकारले कदम चाल्नुपर्ने उपभोक्ताहरु बताउँछन् ।
उता सुनचाँदीको भाउ उसैगरी बढ्ने क्रम रोकिएको छैन । यद्यपि भाउ बढेसँगै सुनचाँदी किन्ने ग्राहक भने घटेका छन् ।
यस्तै माछामासुको भाउ समेत छोइसक्नु छैन । ९ सय ५० देखि हजार रुपैयाँ प्रतिकिलोमा पाइने खसीको मासु ठाउँ हेरी महँगिएको छ । अहिले खसीको मासु प्रतिकिलो १३ सयदेखि १५ सय रुपैयाँ पुगेको छ । कुखुराको मासु पनि झन्डै ४ सयको हाराहारीमा पुगेको छ । अन्डा प्रतिक्रेट ३ सय रुपैयाँ नाघेको छ । माछाको भाउ ४ सय ५० देखि हजार रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । नेवार समुदायमा सुकेको माछा, भिजेको माछा, हाँसको अन्डा सगुनका रूपमा दिने मात्र नभई घरका ठूलाबडालाई सम्मानका रूपमा पनि राख्ने चलन छ । यसरी किन्नै नसकिने गरी भाउ बढ्दा कसरी उपभोग गर्ने भन्नेमा उपभोक्ता चिन्तित हुने अवस्था छ ।
यस्तै गेडागुडीका भाउ पनि किन्नै नसकिने गरी बढेको छ । चाडबाडमा धेरै खपत हुने फलफूलको भाउमा पनि व्यापारीहरुले मनोमानी ढंगले भाउ बढाएका छन् ।
बजार नियन्त्रणका लागि सरकारको पहल
उसो त बजार नियन्त्रण तथा उपभोक्तालाई सहज रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउँदै आएको साल्टट्रेडिङ, दुग्ध विकास संस्थानले चाडबाड लक्षित गरी बजार चलाउने नगरेको पनि कहाँ हो र । बजार लगाए पनि सबै उपभोक्ताको पहुँच यहाँसम्म पुग्न सकेको छैन । यद्यपि उपभोक्ता लक्षित चाडबाडमा सरकारबाट खोलिएका सुपथमूल्य पसलले अलिकति भए पनि सर्वसाधारणलाई राहत त दिएकै छ । यस्तै खाद्य संस्थानले बेच्ने गरेको चामल, गेडागुडी र खसीले पनि उपभोक्तालाई अलिअलि भए पनि राहत दिएको अवस्था छ ।