चाडबाड आगमनसँगै सुनचाँदीको भाउ घट्नेभन्दा पनि बढिरहेको अवस्था छ । आज पनि सुनको भाउ बढेको छ ।
यद्यपि थोरै भए पनि चाँदीको भाउ भने घटेको छ ।
छापावाल सुन आज (सोमबार) प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो भने ७१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
पछिल्ला दुई महिनायता सुनचाँदीको भाउमा निकै उतारचढाव आइरहेको छ । आज सोमबार तेजाबी सुन भने प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस्तै थोरै भए पनि चाँदीको भाउ घटेको छ । हिजो आइतबार ८ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज सोमबार भने ५ रुपैयाँ घटेर ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
चाँदीमा ५ रुपैयाँ मात्र घटे पनि उपभोक्तालाई केही राहत भएको महासंघले जनाएको छ । यता सुनचाँदीको मूल्यमा उतारचढाव देखिएसँगै खपत निकै घटेको छ । चाडबाड आगमनसँगै सुनचाँदीको भाउ घटबढ भइरहँदा उपभोक्ता पनि घटेको मौका हेरि किन्न थालेका छन् । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गएको छ । यसको मतलब सुनचाँदीको भाउले रेकर्ड राख्ने काम पनि सँगै गरिरहेको छ ।
किन बढिरहेको छ मूल्य ?
चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण लगातार सुनको मूल्य बढेको व्यवसायीहरु बताउँछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ सय अर्ब अमेरिकी डलरको सामान आयतमा १० प्रतिशत भन्सार शुल्क लगाउना साथ यसको असर बजारमा पुगेको विश्लेषकहरुको भनाइ छ ।