रुपन्देहीको सदरमुकाम भैरहवा देखि १ किलोमिटर पुर्व ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा सामुन्द्रिक छालयुक्त वाटरपार्क सुरुवात भएको छ । शुक्रबार देखि वाटरपार्क सञ्चालनमा आएको हो ।
नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले उक्त वाटरपार्क सञ्चालनमा ल्याएका हुन् । शुक्रबार एक कार्यक्रमका बीच सांसद यादवकी हजुरआमा शिवरानी यादवले रेडशन वाटर पार्कको उद्घाटन गरेकी छन् ।
समुन्द्रको छालको आनन्द लिन मिल्ने खालको हाल सञ्चालनमा रहेको नेपालकै पहिलो उक्त वाटरपार्कले यस क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउने विश्वास लिएको सञ्चालक यादवले बताए । बुद्ध जन्मस्थल लुम्बिनीको पावन भुमि र नेपाल भारतको सबैभन्दा ठुलो स्थलमार्ग र सो मार्ग हुँदै नेपालमा सबैभन्दा बढी तेश्रो मुलुक र भारतीय पर्यटक भित्रिने नाका रहेको शहरमा एउटा अन्तर्राष्ट्रियस्तरको वाटर पार्कको आवश्यकता महसुस गरेर आफूले उक्त वाटरपार्क सञ्चालन गरेको उनले बताए ।
यही क्षेत्रमा होटल बोधी रेडशन विगत ४ वर्ष देखि उनले नै सञ्चालनमा ल्याएका थिए । त्यससँगै होटल क्षेत्रमा पर्यटकहरुका लागि नयाँ गन्तव्यका रुपमा प्रस्तुत गर्न रेडसन वाटर फनपार्क निर्माण गरेको उनको भनाइ छ ।
उनले भने–‘हाल सम्म १५ करोड रुपैयाँ लगानी भइसकेको यो वाटर फनपार्कमा नेपालमै पहिलो पटक समुन्द्रको झल्को दिने वेभ पुल निर्माण गरेका छौं, त्यसै गरी ३५ र १५ फिटको स्लाईडिंग, रेन डान्स, लेजी रीभर, बच्चाहरुको बेबी स्लाईडिंग, जेट स्प्रे, अम्ब्रेला सावर, लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि यहाँ हुनेछन् ।’ साथै २ किलोमिटर लम्बाइको कृत्रिम खोला समेत निर्माण भएको र त्यहा पाईडेल बोटिंगको समेत व्यवस्था रहेको वाटरपार्क इञ्जिनियर पाल्डुप लामाले बताए ।
यो वाटर पार्क भैरहवा घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने र बसाई अवधि लम्ब्याउन सहयोगी बन्नेमा आफूहरु विस्वस्त रहेको वाटर पार्कका निर्देशक सुनिल श्रेष्ठले बताए । उनका अनुसार वाटर पार्कमा प्रवेशका लागि ५ सय रुपैयाँ कायम भए पनि दशैं तिहार छठ पर्व लगायत विभिन्न पर्वहरुलाई मध्यनजर गर्दै ३ सय ५० रुपैयाँ कायम गरिएको छ भने जेष्ठ नागरिक र विद्यार्थीहरुलाई अधिकतम छुटको व्यबस्था रहेको छ । उद्घाटनको दिन शुक्रबार निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।
बिहान ९ बजे देखि बेलुका ८ बजे सम्म वाटर फन पार्कमा बिताउन सकिने र एक पटक प्रवेश टिकट काटेपछि दिनभर बस्न सकिने व्यवस्था रहेको समेत उनले बताए । त्यहाँ आउनेहरुका लागि रेष्टुरेण्ट र चारैतिर दृश्यावलोकन गर्न मिल्ने स्थान समेत रहेको छ ।
साढे चार बिगाहा क्षेत्रफलमा रहेको उक्त वाटर फन पार्क पश्चिम नेपालकै उत्कृष्ट गन्तव्य बनाउने गरी अन्य पूर्वाधार समेत तयार गर्दै जाने र सबै पूरा हुँदा कम्तिमा ३० करोड खर्च लाग्ने सञ्चालकको अनुमान छ ।