कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बारीमा फलेका स्याउ टिप्न भ्याइनभ्याइ छ । चन्दननाथ १० की माया देवकोटा पनि सातादिनदेखि बारीमा स्याउ टिप्न व्यस्त छिन् । उनीहरू दुवैको बारीमा करिब १ सय ५० स्याउका बोट छन् । उनीहरू मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त छन् ।
स्याउ टिप्न सुरु भएसँगै व्यापारी स्याउ बगैँचामै आएर किन्ने क्रम पनि बढेको छ । स्याउ खरिद गर्न नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायतका व्यापारी जुम्ला पुगेका छन् । भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानीका लागि स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैँचा खाली गरिसकेका छन् । ढिलो टिपे स्याउ बिक्री नहुने समस्याले धमाधम बगैँचा खाली हुन थालेका हुन् ।
यस वर्ष जुम्लामा ६ हजार १ सय टन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रको छ । जिल्लाको स्याउ उत्पादनबारे प्राविधिकले तथ्यांक संकलन गरिहेको केन्द्रका अर्थविज्ञ बालकराम देवकोटा बताउँछन् । उनका अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको अनुमान छ । देवकोटाले स्याउको बजार बर्सेनि बढेको बताए । केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलंगा बजार लैजानुपर्ने बाध्यता थियो । यस वर्ष व्यापारी बगैँचामै पुगेर धमाधम स्याउ खरिद गरिरहेका छन् ।
८ वर्षअघि साबिक जिविसको १५औं जिल्ला परिषद्ले जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरेको थियो । जुम्लाले २०६६ मा नेपाल प्रङ्गारिक प्रमाणीकरण मान्यता पाएपछि स्याउ जिल्लाबाहिर जाने क्रम बढेको हो । स्याउको बजार जुम्लामा भन्दा पनि जिल्लाबाहिर भएकाले ढुवानीमा समस्या हुने गरेको स्याउ व्यापारीहरु बताउँछन् । जुम्लाको स्याउको माग काठमाडौंलगायत ठूला सहरमा बढी छ ।
स्तरीय कार्टुन नहुँदा स्याउ प्याकेजिङमा समस्या भएको केन्द्रका अर्थविज्ञ देवकोटाको भनाइ छ । जिल्लामा स्याउ भण्डारणको व्यवस्थासमेत नहुँदा किसान समस्यामा छन् । केही किसानले आफैं स्याउ जिल्लाबाहिर बिक्रीका लागि लैजाने गरेका छन् । बजारको मागभन्दा धेरै स्याउ एकैपटक जाने भएकाले राम्रो भाउ नपाएको उनको भनाइ छ । केन्द्रका अनुसार जुम्लामा ३ हजार १ सय हेक्टरमा स्याउखेती गरिएकामा ८ सय हेक्टरमा मात्रै स्याउ फलेको छ । -रासस