नेपाल भौगोलिक रूपमा इजरायलभन्दा भन्डै सात गुणा ठूलो छ। इजरायलको ६० प्रतिशत क्षेत्रफल मरुभूमि छ। पानी आक्कलझुक्कल पर्छ। कुल जनसंख्यामध्ये १.७ प्रतिशत अर्थात् ७२ हजार जनता कृषि पेसामा आबद्ध छन्। त्यो मुलुकले पर्याप्त परिमाणमा तरकारी र फलफूल उत्पादन गरी २१ मुलुकमा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्दै आएको छ।
नेपालमा कुल जनसंख्याको ६५ प्रतिशत (झन्डै १ अर्ब ९० करोड) जनता कृषि पेसामा छन्। नेपाल ‘कृषिप्रधान’ मुलुक भनेर चिनिन्छ। कुल खेतीयोग्य भूमि करिब ३१ लाख ९५ हजार एक सय ७३ हेक्टर छ। तर यही मुलुक कृषिमा परनिर्भरता चुलिएको छ।
सन् ६० को दशकमा नेपाल धानचामल निर्यात गर्ने मुख्य मुलुकमा पथ्र्यो। मुलुकले आव ०७५।७६ मा एक खर्ब ६० अर्ब ५८ करोड मूल्यबराबरको प्रमुख कृषिजन्य वस्तु विभिन्न मुलुकबाट आयात गरेको छ। कृषिका अन्य उत्पादनसमेत जोड्ने हो भने झन्डै दुई खर्ब हाराहारीमा कृषिजन्य वस्तु आयात भएको छ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालले कृषिजन्य वस्तुमा आयात नगरेको कुनै वस्तु छैन। गत आवमा कुल १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात हुँदा एक खर्ब ६० अर्ब ५८ करोडको प्रमुख कृषिजन्य वस्तुमात्रै आयात भएको छ।
‘यस्तो अवस्थामा पनि हामी छाती फुकाएर भन्छौं, कृषिप्रधान हाम्रो मुलुक,’ राष्ट्रिय कृषक समूह महासंघकी महासचिव रीता बस्ताकोटीले भनिन्, ‘अब कृषिमा आयातमुखी मुलुक भन्ने बेला आयो। अहिलेसम्म कृषिमा होइन, बालुवामा लगानी भएको छर्लंग भयो।’ सरकारले कृषिलाई प्राथमिकता दिँदै गर्दा भयावह रूपमा कृषिजन्य वस्तु आयात बढेको छ। अन्नपूर्ण पाेस्टमा खबर छ।