गत सातायता झन्डै साढे ६ हजार रुपैयाँले मूल्य बढेको सुनको भाउ आज (शुक्रबार) भने स्थिर रहेको छ । हिजो (बिहीबार) कायम मूल्यमै आज कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार ७१ हजार ५ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार पनि सोही मूल्यमै कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन भने ७१ हजार २ सय रुपैयाँमा हिजोकै भाउमा आज पनि कारोबार भइरहेको महासंघले जनाएको छ ।
ह्वात-ह्वाति मूल्य बढेसँगै नेपाली बजारमा सुनचाँदीको खरिदबिक्री प्राय: ठप्प देखिन्छ । यद्यपि आज चाडबाड नजिकिएसँगै खरिदबिक्रीमा केही चलपहल भने देखिएको छ । महासंघका अनुसार नेपाली इतिहासमा सुनको मूल्यले उच्च रेकर्ड भने कायम गरिरहेको छ ।
चाँदीको भाउ पनि हिजो र आज उही मूल्यमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी हिजोकै भाउ अर्थात प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाडबाडको मुखैमा सुनको मूल्य बढ्दा उपभोक्ता भने निराश बनेका छन् । उसो त अमेरिका र चीन व्यापार, अमेरिका-इरानबीच बढ्दो तनाव एवं अमेरिकी केन्द्रीय बैंकको ब्यजदर कटौतीले सुनको बजार प्रभावित भएको बताइन्छ ।
महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ । गत साता अमेरिकी बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको थियो । ब्याजदर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो ।