गत सातायता झन्डै ६ हजार रुपैयाँले मूल्य बढेको सुनको भाउ आज (बुधबार) केही घटेको छ । यस्तै हिजो (मंगलबार) को तुलनामा आज (बुधबार) सुनचाँदी दुवैको भाउ केही घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार ७१ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य बुधबार भने ७० हजार ३ सयमा कारोबार भइरहेको छ । यसको मतलब हिजोको तुलनामा छापावाल सुन ७ सय रुपैयाँले गिरावट आएको छ । गत साता लगातार बढिरहेको सुनको मूल्य २३ गतेदेखि बढ्ने क्रम रोकिएको थियो । मंगलबार ५ दिनपछि अर्थात् २८ गते सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज बुधबार भने ७ सय रुपैयाँले घटेर ७० हजार ३ सय रुपैयाँ प्रतितोला छापावाल सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।
ह्वात-ह्वाति मूल्य बढेसँगै नेपाली बजारमा सुनचाँदीको खरिदबिक्री प्राय: ठप्प देखिन्छ । यद्यपि आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ घट्दा कारोबार बढ्ने अपेक्षासमेत गरिएको छ । महासंघका अनुसार नेपाली इतिहासमा सुन प्रतितोला ७१ हजार रुपैयाँ पुग्नु सबैभन्दा उच्च हो । मंगलबार तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँ पुगेको थियो । तेजाबी सुन पनि प्रतितोला ७ सय रुपैयाँ नै घटेर आज बुधबार ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसको मतलब छापावाल र तेजाबी दुवै सुनमा समान ७-७ सय रुपैयाँ प्रतितोलाका रुपमा भाउ घटेको छ ।
चाँदीको भाउ भने १५ रुपैयाँ मात्र घटेको छ । हिजो ८ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय सुनचाँदीको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ । तर, आज भने भाउ केही घटदा उपभोक्ताले सहज महसुस गरेका छन् ।
चाडबाडको मुखैमा सुनको मूल्य बढ्दा निराश बनेका उपभोक्ता अलिअलि घट्दा भने केही आशा जागेको बताउँछन् । उसो त अमेरिका र चीन व्यापार, अमेरिका-इरानबीच बढ्दो तनाव एवं अमेरिकी केन्द्रीय बैंकको ब्यजदर कटौतीले सुनको बजार प्रभावित भएको बताइन्छ ।
महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ । गत साता अमेरिकी बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको थियो । ब्याजदर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो ।