पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य आज (मंगलबार) एकैदिन हजार रुपैयाँले बढेको छ ।
यही साउन २२ गते ६९ हजार ९ सय कायम रहेको सुनको मूल्य भोलिपल्ट अर्थात् २३ गते ७० हजार रुपैयाँ प्रतितोला पुग्यो । गत साता लगातार बढिरहेको सुनको मूल्य २३ गतेदेखि बढ्ने क्रम रोकियो । आज (मंगलबार) ५ दिनपछि अर्थात् २८ गते सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ । गत सातामा झन्डै ५ हजार रुपैयाँले सुनको मूल्य बढेको छ । ५ दिन स्थिर रही आज हजारले बढेर सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएका ५ दिन सुनचाँदीको मूल्य न, बढ्न सक्यो न घट्न नै । यसरी ह्वात-ह्वाति मूल्य बढेसँगै नेपाली बजारमा सुनचाँदीको खरिदबिक्री प्राय: ठप्प देखिन्छ ।
महासंघका अनुसार नेपाली इतिहासमा सुन प्रतितोला ७० हजार रुपैयाँ पुग्नु सबैभन्दा उच्च हो । तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ भने १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँ प्रतितोला पुगेको छ । चाँदी पनि ५ दिनपछि १० रुपैयाँले बढेर कारोबार भएको हो । पछिल्लो समय सुनचाँदीको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ ।
अमेरिका र चीन व्यापार, अमेरिका-इरानबीच बढ्दो तनाव एवं अमेरिकी केन्द्रीय बैंकको ब्यजदर कटौतीले सुनको बजार प्रभावित भएको बताइन्छ । महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ । गत साता अमेरिकी बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको थियो । ब्याजदर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो ।