नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम बिहीबारसम्म रोकिएको थिएन । तर, शुक्रबार, शनिबार र आइतबार भने सुनचाँदीकै मूल्य स्थिर देखिएको छ । गत सातामा झन्डै ५ हजार रुपैयाँले बढेको सुनको मूल्य यी तीन दिन भने स्थिर रह्यो । न, बढ्न सक्यो न घट्न नै । यसरी ह्वात-ह्वाति मूल्य बढेसँगै नेपाली बजारमा सुनचाँदीको खरिदबिक्री प्राय: ठप्प देखिन्छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अस्ति शुक्रबारदेखि आज आइतबारसम्म नेपाली बजारमा सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली इतिहासमा सुन प्रतितोला ७० हजार रुपैयाँ पुग्नु सबैभन्दा उच्च हो । तेजाबी सुन पनि प्रतितोला ६९ हजार ७ सय रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ पनि शुक्रबारदेखि नै स्थिर छ । आज (आइतबार) पनि ८ सय २५ रुपैयाँमै चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
अमेरिका र चीन व्यापार, अमेरिका-इरानबीच बढ्दो तनाव एवं अमेरिकी केन्द्रीय बैंकको ब्यजदर कटौतीले सुनको बजार प्रभावित भएको बताइन्छ । महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ । गत साता अमेरिकी बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको थियो । ब्याजदर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो ।