नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली इतिहासमा सुन प्रतितोला ७० हजार रुपैयाँ पुग्नु सबैभन्दा उच्च हो । तेजाबी सुन पनि प्रतितोला ६९ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा छापावाल र तेजाबी सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
उता चाँदीको भाउ पनि बढिरहेको छ । नेपाली बजारमा बिहीबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले भाउ बढेको हो ।
नेपाली बजारमा पछिल्लो एक सातामै सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको महासंघले जनाएको छ ।
अमेरिका र चीन व्यापार, अमेरिका-इरानबीच बढ्दो तनाव एवं अमेरिकी केन्द्रीय बैंकको ब्यजदर कटौतीले सुनको बजार प्रभावित पारेको बताइन्छ ।
महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ । गत साता अमेरिकी बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको थियो । ब्याजदर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो ।