हिन्दुधर्मावलम्बी नारीको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार सुन तोलामा ६८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार भने २ सय रुपैयाँ बढेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले बढेर ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलामा ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावले सुनचाँदीको मूल्यमा वृद्धि भएको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महँगो भएको हो । विशेषगरी साउनमा नेपालमा सुनचाँदीको कारोबार बढी हुन्छ । भदौमा तिज मनाउने समयमा गरगहना बढी खरिद-बिक्री हुने व्यवसायीहरुको अनुभव छ ।
संघका अनुसार बजारमा सुनको माग एकदमै न्यून छ । अब केही समयसम्म सुनको भाउ सामान्य अवस्थामा नआउने उनले बताए । सुन व्यवसायी र उपभोक्ताको हितका लागि सरकारले यसलाई केही हदसम्म सामान्य गर्न भने सक्नेछ ।