सरकारले गरिब परिवार पहिचानका लागि दोस्रो चरणको तथ्याङ्क सङ्कलनको काम पुनः सुरु गरेको छ। यसअघि २०६९ सालमा २६ जिल्लामा गरिब परिवार पहिचानको काम भएको थियो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले शुक्रबार स्याङ्जा जिल्लाबाट दोस्रो चरणको तथ्याङ्क सङ्कलनको उद्घाटन गरिन्। दोस्रो चरणमा १२ जिल्लामा तथ्याङ्क सङ्कलन सुरु भएको छ।
ताप्लेजुङ, धनकुटा, महोत्तरी, रसुवा, काभ्रेपलाञ्चोक, स्याङ्जा, लमजुङ, म्याग्दी, बाँके, दैलेख, डडेलधुरा र दार्चुलामा तथ्याङ्क सङ्कलन सुरु भएको छ। तथ्याङ्क सङ्कलनका लागि चार महिनाको समय तोकिएको छ।
गणक र सुपरिवेक्षकलाई तालिम दिएर तथ्याङ्क सङ्कलनमा खटाइएको छ।सरकारले गरिब परिवारमा सूचीकृतहरूको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाएको छ।
गरिबी निवारणका लागि लक्षित कार्यक्रमहरू गर्न र गरिब परिवारको सेवा सुविधाको व्यवस्था गर्न यस्तो सूची उपयोगी हुनेछ। गरिब लक्षित कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने खुलाउँदै उनले भने, “वास्तविक गरिबलाई फाइदा पुग्छ, छात्रवृत्तिहरूमा गरिब परिवारका छोराछोरीले प्राथमिकता पाउँछन्। ” गाेरखापत्र दैनिकमा खबर छ।