नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । इतिहासकै उच्चविन्दुमा पुगेको सुनको मूल्य आइतबार प्रतितोला ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
तेजाबी सुन पनि प्रतितोला ६६ हजार रुपैयाँ पुगेको छ । संघका अनुसार आइतबारका लागि लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबैभन्दा उच्च विन्दु हो । अस्ति शुक्रबार सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो ।
विश्व बजारमा सुनको भाउ बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावले पारेको प्रभावका रूपमा लिइएको छ । अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको हो ।
अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका-चीन व्यवपार युद्धको असरले अन्तर्राष्ट्रिय सेयर बजारमा परेको असरले सुनको मूल्य प्रभावित भएको संघको बुझाइ छ ।
त्यसैगरी अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरी चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा सेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको संघअन्तर्गतको सुनको भाउ निर्धारण समिति संयोजक तेजरत्न शाक्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि त्यसैको प्रभाव परेको हो ।
मूल्य आकासिएपछि पुराना सुन बिक्री गर्ने ग्राहक भने बढेका छन् । यद्यपि सुन किन्न आउने नयाँ ग्राहक भने नभएको संघले जनाएको छ ।