अघिल्लो दिनको तुलनामा नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटे पनि शुक्रबार भने ह्वात्तै बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको थियो भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको थियो ।
शुक्रबार भने तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार बुधबार भने सुन तोलाको ६५ हजारमा कारोबार भएको थियो ।
यस्तै बुधबार ७ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार भने १० रुपैयाँ घटेर प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने चाँदीको भाउमा कुनै हेरफेर नभएको महासंघले जनाएको छ । यसको मतलब शुक्रबार चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमै कारोबार भइरहेको छ ।
विश्व बजारमा सुनको भाउ बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावले पारेको प्रभावका रूपमा लिइएको छ । अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको हो ।
त्यसैगरी अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरी चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा सेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको महासंघअन्तर्गतको सुनको भाउ निर्धारण समिति संयोजक तेजरत्न शाक्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि त्यसैको प्रभाव परेको हो ।