नेपाली नोटका डिजाइनकर्ता हुन् सुन्दर श्रेष्ठ। उनले नेपालमा हाल प्रचलनमा रहेका सबै ५ देखि १००० दरका नोट डिजाइन गरेका हुन् । नेपाल राष्ट्र बैंकको ३० वर्षे सेवाबाट हालै अवकाश लिएका श्रेष्ठले बीबीसी नेपाली सेवासँगको कुराकानीमा भने– नोट बनाउने (डिजाइन गर्ने) मानिस भनेपछि द्वन्द्वकालमा अपहरणमा परिएला कि भन्ने डर हुन्थ्यो मलाई।
उनले कतै नक्कली नोट समातियो भन्ने समाचार सुन्दा अहिले पनि डर लाग्ने बताउँछन्। ‘बनाएको त मैले कसरी नक्कली निस्कियो भन्ने लाग्छ मलाई,’ उनी भन्छन्।
श्रेष्ठले देशबाट राजा हटिसकेपछि नोटमा के राख्ने भन्ने अन्यौल हुँदा आफूले विभिन्न ३०–३५ वटा डिजाइन बनाएको उल्लेख गर्दै पछि नेपालमा जन्मेका बुद्धको तस्बिर राख्ने छलफल भएको बताए । तर नेपालमा बुद्धको आधिकारिक तस्बिर नभेटिँदा नराख्ने निर्णय भएको र सबैले मान्ने सगरमाथा राखिएको उनले बताए।