काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घर-घरमै पुगेर भत्ता दिने तयारी गरेको छ ।
घर-घरमा सामाजिक भत्ता पुर्याउने गरी काठमाडौं महानगरपालिकाले आव ०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
महानगरपालिकाले समग्र महानगरवासीको आर्थिक, सामाजिक र सांस्कृतिक हितका लागि बजेट ल्याइएको प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् । उनका अनुसार काठमाडौं महानगरपालिकाले देशको प्रतिनिधित्व गर्नेछ । यसमार्फत देशका अन्य स्थानीय निकायले पनि सिक्नेछ । महानगरका विभिन्न विभागमा प्रजातिका फलफूल रोपेर ग्रिन सिटी प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ ।
कोटेश्वर तीनकुनेस्थित खुला क्षेत्रलाई मौलिक पहिचानसहितको अन्तर्राष्ट्रियस्तरको आधुनिक बुद्बपार्क निर्माण गर्ने भएको छ । महानगरपालिकालाई प्लास्टिक झोलामुक्त सहर घोषणा गरिने कार्यक्रममा उल्लेख छ । सहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरूमध्येबाट विभिन्न विधामा प्रत्येक वर्ष १० जनालाई महानगरीय सुशासन पत्रकारिता पुरस्कार दिने महानगरपालिकाले जनाएको छ ।
सर्वसाधारणको हितका लागि सार्वजनिका शौचालयमा पहुँच वृद्बि गर्न रेस्टुरेन्ट, सपिङ मल, पेट्रोल पम्पमा अस्पताल र सार्वजनिक संस्थाहरूसँग सहकार्य गर्ने कुराहरू कार्यक्रममा स्पष्ट पारिएको छ । यस्तै सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरूको पहुँच बढाउन काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५ लाई कार्यान्वयन गरिने कार्यक्रममा उल्लेख गरिएको छ । महानगरपालिकाले ०७६/७७ को नीति कार्यक्रमबाट १५ अर्ब, ५० करोड, ७० लाख , १२ हजार रुपैयाँ बराबरको बजेट पास गरेको हो ।