अरुलाई वित्तीय अनुशासको पाठ सिकाउँदै आएको सरकारबाटै वित्तीय अनुशासन उल्लंघन भएको पाइएको छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७५-७६ को अन्तिममा वित्तिय अनुशासन उल्लंघन गर्दै २२ अर्बभन्दा बढी रुपैयाँ रकमान्तर गरेको छ । भइपरी आउने साधारण र विकास बजेट शीर्षकबाट रकमान्तर गरिएको हो ।
एउटा शीर्षकमा छुट्याइएको रकम अर्को कार्यक्रममा सार्नु बजेट रकमान्तर हो । गत आर्थिक वर्षको अन्तिम असार महिनामा मात्रै २२ अर्ब ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।
हरेक आर्थिक वर्षको अन्तिममा यसरी नै ठूलो रकम रकमान्तर हुने गरेको छ । सुरुका महिनामा रकम खर्च नगर्ने, तर आर्थिक वर्षको अन्त्यमा बजेट सक्न रकमान्तर गरेर खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
बजेट सक्न हतारमा गरेको कामसमेत गुणस्तरहीन हुँदै आएको छ । विभिन्न मन्त्रालयले सुरुमै रकम मागे पनि बजेट बढी खर्च गरेको देखाउन अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिममा मात्र रकम निकासा दिने गरेको पाइएको छ ।
मुलुकको आर्थिक क्षेत्रमा विज्ञ एवं अनुभवी मानिएका अर्थमन्त्री डा. युवराज खतिवडाले ‘वित्तीय अनुशासन’ कायम गर्ने प्रतिबद्धता धेरै पटक जनाउँदै आएका थिए । तर, त्यसको ठीक विपरीत उनले आर्थिक वर्षको अन्तिम महिनामा ठूलो रकम रकमान्तर गर्न स्वीकृति दिएका छन् । यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूले सत्ता सम्हालेलगत्तै सार्वजनिक निकायमा सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने काम पहिलो प्राथमिकतामा रहने बताएका थिए ।
उनले भाषणका क्रममा धेरैपटक यही भनाइ दोहोर्याउँदै आएका छन् । अहिले व्यवहारमा सो कुरा लागू हुन नसकेको सरकारी वित्तीय अनुशासन उल्लंघनको यो तथ्यांकले पुष्टि गर्छ । राजधानी दैनिकमा खबर छ।