नेपालगन्जस्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले प्रदान गर्ने सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण देखिएको छ ।
केन्द्रबाट प्रदान हुने विभिन्न समयावधिका तालिममा यस क्षेत्रको बाँके, बर्दियालगायत टाढा–टाढाबाट समेत युवा आउने गरेको केन्द्र प्रमुख जेन्टिल गौतमले बताए । केन्द्रले तालिममार्फत बर्सेनि सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको उनले बताए । तालिममा सहभागीमध्ये ७० प्रतिशत रोजगार वा आफैँ स्वरोजगारमूलक व्यवसाय गर्न सफल हुने गरेको उनको दाबी छ ।
केन्द्रले तालिममा सहभागीलाई रोजगार वा स्वरोजगकारमूलक व्यवसायका लागि आवश्यक सहयोग र समन्वय गर्दै आएको छ । अछामबाट नेपालगन्ज आएर तीनमहिने कटाइसिलाइ तालिम लिएकी लक्ष्मी कुँवरले तालिम सिकेर आफ्नै खुट्टामा उभिने आँट आएको बताइन् । 'अब गाउँ फर्किएर आफ्नै पसल खोल्ने तयारी गरेकी छु,' उनले भनिन् । ६ महिने कम्प्युटर तालिम सिकेका नेपालगन्जका चक्र ढुंगानाले अहिले रोजगारी पाउन सफल भएको बताए । केन्द्र प्रमुख गौतमका अनुसार आव ०७५/७६ मा ६ सय १८ जनालाई सीपमूलक तालिम प्रदान गरिएको छ ।
२७ जनालाई ६ महिने कम्प्युटर तालिम दिइएको छ । यसैगरी तीनमहिने केश शृंगार तालिम ६० जनालाई, सिलाइकटाइ ४८ जनालाई प्रदान गरिएको छ ।
आव ०७५/७६ मा केन्द्रले विद्युत् जडानको तालिम ५६ जनालाई, इलेक्ट्रोनिक्सको तालिम दुई जनालाई र वेल्डिङको तालिम २० जनालाई प्रदान गरेको छ । यसैगरी तीनमहिने हाउस वाइरिङ तह एकको तालिम ५० जनालाई, हाउस होल्ड प्लम्बिङ तह दुईको तालिम २३ जनालाई, कुक तह एकको तालिम २५ जनालाई, मोटरसाइकल मर्मत तालिम २५ जनालाई, होजियारी तालिम ५० जनालाई, फेसन डिजाइनिङ तह एक तालिम ५० जनालाई, मेसन तह एक तालिम २५ जनालाई तालिम दिइएको छ । -रासस