बनेपा नगरपालिका–१० थापागाउँमा रहेको बुद्ध फलफूल नर्सरी फार्ममा अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढी पसेर किबीको बिरुवा नष्ट हुँदा करीब एक करोड बराबरको क्षति भएको छ ।
दुई लाख वटा बिरुवा उमार्ने गरी पाँच वटा टनेलमा बीउ राखिएकोमा बाढीले नष्ट गरेपछि करीब रु एक करोड बराबरको क्षति भएको बुद्ध फलफूल नर्सरीका सञ्चालक शम्भु तामाङले जानकारी दिए।
तीन रोपनी जग्गामा भाडामा लिएर पाँच वटा टनेलमा उत्पादन गर्दै आएको किबीको बिरुवा विभिन्न जिल्लामा पुर्याउने लक्ष्यका साथ काम गर्दै आएको छ ।
अघिल्लो वर्ष पनि पाँच वटा जिल्ला रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु र मकवानपुरका लागि आएको मागका आधारमा बिरुवा उत्पादन गरी बिक्री गरेको उनकाे भनाइ छ । यस वर्ष पनि बागवानी विकास केन्द्र, फलफूल विकास निर्देशनालय किर्तिपुरबाट आएको मागअनुसार विभिन्न जिल्लामा पुर्याउने गरी दुई लाख वटा बिरुवा उत्पादन गरेको उनकाे भनाइ छ ।
“एकदम राम्रोसँँग फस्टाउँदै आइरहेको थियो, पानी परेको बेलामा बाढी पसेर सबैजसो सखाप पार्यो ।” उनले भने, “एक लाख पचास हजार वटा बिरुवा रहेकोमा एक लाख वटाभन्दा बढीमा क्षति पुगेको छ ।”
उनकाे नर्सरीमा उत्पादन गरेको किबीको बिरुवा प्रतिबोट रु १०० को दरले बागवानी विकास केन्द्र, फलफूल विकास निर्देशनालयले खरीद गरेर विभिन्न जिल्लाका किसानको मागको आधारमा वितरण गर्दै आएको छ । उनले भने, “एकातिर सरकारले विभिन्न जिल्लाका किसानको मागलाई पूर्णता दिन सकेन, अर्कोतिर आफ्नो लगानी पनि डुब्यो ।” अर्को ठाउँमा भएको नर्सरीमा रहेको पचास हजार बोट बाँकी छ । नेपालमा चार-पाँच थरीको किबी खेती गर्दै आएको उनकाे भनाइ छ ।
सरकारको नियमअनुसार रु १०० प्रतिबोट बिक्री गर्ने भए पनि आफूले बाहिर बेच्दा प्रतिबोट दुईदेखि तीन सयसम्ममा बिक्री गर्दै आएको उनकाे भनाइ छ । त्यहाबाट सुन्तला, जुनार, कागती, एबोकाँडो, हलुवाबेद, नास्पाति, मधेसी बदाम, मेकाडेमीनट लगायतको फलफूलका बिरुवा उत्पादन र बिक्री हुँदै आएकाे छ।
नेपालमा नै पहिलो पटक किबीको बिरुवा उत्पादनको काम शुरु गर्नुभएको उहाँले विसं २०५८ बाट अलिअलि उत्पादन गरेको र २०६०-०६१ सालबाट व्यावसायिक रुपमा नै बिक्री गर्दै आएको बताए ।
त्यसबेला स्वयंसेवी जापानीहरु नेपालमा आउने बेलामा बीउ राख्ने तरिका सिकाएको र पछि आफै जापान पनि गएर एक हप्तासम्म सिकेर आएपछि नेपालमा नै किबीको बीउबाट बिरुवा उमारेर व्यावसायिक रुपमा नै बिक्री गर्दै आएको उनकाे भनाइ छ ।