तीन दशकपछिको पूर्ण बहुमतसहितको सरकारले वर्षैभरि काम गरेको भनेर ढोल पिटे पनि तथ्यांकले आफैंले निर्धारण गरेको लक्ष्य भेट्न नसकेकोे देखाएको छ। गत आर्थिक वर्ष २०७५-७६ मा सरकारले चालु र पुँजीगत खर्च एवं राजस्व असुलीको लक्ष्य भेट्न सकेन। अर्थमन्त्री युवराज खतिवडाले गत आवको बजेट ल्याउँदा तोकेको राजस्वबाहेक चालू र पुँजीगत खर्चको लक्ष्य महत्वाकांक्षी थिएन र पनि सरकार यही लक्ष्य फेला पार्न चुकेको छ।
अर्थमन्त्री खतिवडाले गत आर्थिक वर्षको मध्य (पुस) सम्ममा खर्च र राजस्व असुली लक्ष्यअनुसार नहुने देखेर बजेटको मध्यावधि समीक्षामार्फत कुल बजेट खर्च ८.२ प्रतिशतले घटाएका थिए। यस्तै चालू खर्च ७.७, पुँजीगत १३.५ र राजस्व लक्ष्य पनि ९ प्रतिशतले घटाइएको थियो। बजेटले राखेको लक्ष्य भेट्टाउनु त परै जाओस्, अहिले यही संशोधित लक्ष्य पनि सरकारले पूरा गर्न नसकेको हो।
अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले सरकारी खर्च संशोधित लक्ष्यको नजिक पुगेको जानकारी दिए। ‘गत वर्ष कुल बजेट खर्च ९० प्रतिशत भएको छ। यो संशोधित लक्ष्यको हाराहारी हो,’ प्रवक्ता खत्रीले बुधबार नागरिकसँग भने, ‘पुँजीगत खर्च र राजस्व असुलीमा पनि हामी नजिक पुगेका छौं।’ उनका अनुसार पुँजीगत खर्च संशोधित लक्ष्यको ९७ प्रतिशत र राजस्व असुली ८७ प्रतिशत भएको छ।
सरकारी तथ्यांकलाई आधार मान्दा दुईतिहाइको बलियो सरकारको भनाइ र काम गराइमा एकरुपता देखिएको छैन। संशोधित लक्ष्यलाई छोड्ने हो भने सरकारको प्रगति ८५ प्रतिशत पनि पुगेको छैन। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा बहुमतको सरकार बनाएपछिको ३० वर्षमा यो पूर्ण बहुमतको सरकार हो। राजनीतिक संक्रमण पनि सकिएको र कुनै क्षेत्रबाट अवरोध पनि नहुने देखिएपछि सर्वसाधारणले यो सरकारबाट विकासका काम हुनेमा ठूलो आशा राखेका थिए। तर सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कुरामात्र ठुला गर्ने, काम भने गर्न नसकेको देखिएको छ। नागरिक दैनिकमा खबर छ।